काठमाडौं । गत असोज ११ र १२ मा आएको बाढीले तातोपानी नाकाको नेपाल र चीन जोड्ने भोटेकोशी र लिपिङ खोलाको पुल बगाएपछि अहिले तुइनमार्फत चीनबाट फलफूललगायत छिट्टै कुहिने सामान नेपाल ल्याइएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।
बाढीपहिरोका कारण ठप्प भएको रसुुवागढी नाका भने अझै खुलेको छैन । उक्त क्षेत्रका भन्सारका कार्यालयहरूका अनुसार तातोपानी नाका हुँदै आउन लागेको करीब ४० कन्टेनर सामान चीनतर्फ नै रोकिएका छन् । रसुवागढी नाकाबाट आउन लागेको ३०० भन्दा बढी कन्टेनर सामान तिब्बतको केरुङमै अड्किएका छन् ।
तिहारअघि दुवै नाका पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । कोरोना महामारीका बेला बन्द यी दुई नाका चीन सरकारले पूर्ण रूपमा खुलाएपछि आयातनिर्यात फेरि बढ्न थालेको थियो ।
गत आर्थिक वर्ष २०८०/८१ मा चीनबाट हुने सम्पूर्ण आयातको करीब ३४ प्रतिशत यी दुई नाकाबाट भएको थियो । त्यसैगरी, चीन निर्यातको ६७ प्रतिशत अंश यी दुई नाकाबाट भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
चालू आर्थिक वर्ष (आव) को पहिलो २ महीनामा चीनबाट भएको जम्मा आयातको करीब ४० प्रतिशत यी दुई नाकाबाट भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यसरी दुई देशबीच बढ्दो व्यापार पछिल्लो बाढीपहिरोका कारण फेरि रोकिएको छ ।
‘पुल भत्किएको ठाउँमा तुइन र काठको कामचलाउ पुल राखिएको छ । त्यहाँ राख्न नयाँ बेलिब्र्रिज ल्याइसकिएको छ । तर, त्यहाँसम्म बेलिब्रिज ढुवानी गर्ने बाटो नभएकाले काम अघि बढ्न सकेको छैन,’ तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले भने ।
उनका अनुसार पुल भत्किएको ठाउँसम्म बेलिब्रिज लैजान कोदारीमा पहिरोले बगाएको बाटो बनाउनुपर्छ । तर, पहिरो गएको ठाउँनजिकै एउटा गाउँ छ । पहिरो पन्छाउन खोज्दा उक्त गाउँलाई असर पर्न सक्ने देखिएकाले के गर्ने भन्ने विषयमा तत्काल केही सोच्न नसकिएको अधिकारीहरू बताउँछन् । ‘चाँडोचाँडो काम गर्दा पनि पूर्ण रूपमा नाका सुचारु हुन कात्तिक महीना पूरै लाग्ने देखिन्छ,’ काफ्लेले भने ।
छिट्टै बिग्रन सक्ने फलफूललगायत सामान लिपिङसम्म ल्याएर गाडीबाट पल्टी गर्ने, त्यसपछि तुइनमा तारेर काठको अस्थायी पुल हुँँदै बोकेर कोदारीको पहिरोसम्म ल्याउने र वारिको गाडीमा हाल्ने काम गरिएको उनले बताए । भन्सार कार्यालयका अनुसार अहिले तातोपानीबाट फलफूल र लसुन मात्रै आयात भएको छ ।
रसुवागढी नाकामा समेत दशैंतिहार र जाडोलाई लक्ष्य गरेर ल्याइएका लत्ताकपडा, फलफूललगायत करीब ३/४ सय ट्रक सामान रोकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलले बताए । केरुङदेखि रसुवागढीसम्मको करीब १० किलोमीटर बाटो बाढीले बगाएको छ । बाटो भएको स्थानमा अहिले खोला बगेको उनले बताए । उनका अनुसार चाडपर्व लक्षित करोडौंका फलफूल बिग्रने अवस्थामा छन् ।
- असोज दोस्रो साताको बाढीपहिरोले बाटो र पुल बगाउँदा दुवै नाकाबाट हुने व्यापार प्रभावित
- तातोपानी नाकानिर तुइन राखेर स्याउ र लसुन ल्याइँदै
- बाढीपहिरोले बन्द हुनुअघि बढ्दो क्रममा थियो दुवै नाकाबाट हुने व्यापार
- तिहारअघि नाका खुल्ने सम्भावना न्यून, ३ सयभन्दा बढी कन्टेनर सामान चीनतिरै अड्किए
- तिहार र जाडोका लागि ल्याइएका सामान चिनियाँ भूभागमै
जाडोका लागि अर्डर गरिएका सामान नाकामा अड्किँदा व्यवसायी चिन्तित छन् । दुवै भन्सारका कार्यालय अधिकारीले निर्यात भने दुवै नाकाबाट ठप्प रहेको बताए ।
यी दुई उत्तरी नाकाबाट विशेष गरी स्याउ, लसुन, लत्ताकपडा, विद्युतीय सामान र रासायनिक मलजस्ता वस्तु आयात हुन्छ । तामाका भाँडा, जडीबुटी, मैदा, घिउ, हस्तकलाका सामान, याकलाई खुवाउने घाँस, चाउचाउ, अण्डालगायत वस्तु निर्यात हुने गरेको छ ।
भन्सार विभागका अनुसार चालू आवको पहिलो २ महीनामा यी दुई नाकाबाट २० अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । १७ करोड ७५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
बाढीपहिरोका कारण नाका अवरुद्ध हुँदा उत्तरी नाकाबाट आयात हुने सामग्रीको व्यापारमा समेत प्रभाव परिरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठले बताए । उनका अनुसार तिहारअघि नाका खुल्ने निश्चित नहुँदा मुख्य गरी तिहारका लागि आवश्यक पर्ने झिलिमिली बत्ती र स्याउलगायत वस्तुको व्यापार प्रभावित हुने देखिएको छ ।
नाका सुचारु नभएमा यी वस्तुको मूल्य महँगिन सक्ने अनुमान गरिएको छ । जाडो मौसमका लागि अर्डर गरिएका लत्ताकपडासमेत आयात नहुँदा त्यस्ता वस्तुको मूल्यमा समेत केही प्रभाव पर्न सक्ने उनको भनाइ छ ।