सिन्धुपाल्चोक । चीन सरकारले तिब्बतको विभिन्न स्थानमा कोभिड–१९ संक्रमण दर बढेको भन्दै तातोपानी नाकाबाट आयातनिर्यात बन्द गरेको छ । एकतर्फी रूपमा नाका बन्द गरिएका कारण कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।
‘चार दिनयता यो नाका हुँदै चीनबाट कुनै पनि सामग्री आयात भएको छैन,’ शनिवार आर्थिक अभियानसँग कुरा गर्दै उनले भने, ‘चिनियाँ अधिकारीहरूले पनि यो विषयमा हामीलाई कुनै जानकारी दिएका छैनन् । नाका कहिले खुल्छ भन्ने अन्योल छ ।’
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले तिब्बतमा कोभिड संक्रमण बढेर आयात रोकिएको भन्ने जानकारी प्राप्त भएको बताए । ‘खासाक्षेत्रमा ५० भन्दा बढी कोभिड संक्रमित भेटिएको खबर आएको छ,’ उनले भने, ‘त्यही कारण आयातनिर्यात बन्द गरिएको उनीहरूले जानकारी दिएका छन् ।’ उनले पनि नाका कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको बताए ।
कोभिड–१९ शुरू भएयता तातोपानी नाका वान वे सञ्चालन हुँदै आएको छ । नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित छ । केही समयपहिले नाकाबाट वस्तु आयात बढाउन दुवै देशका स्थानीय प्रशासन सहमत भएका थिए । तर, चीनमा पुनः कोरोना बढ्न थालेपछि नाकाबाट आयात रोकिएको हो ।
नाका पुनः खुला गराउन शुक्रवार सभामुख अग्निप्रसाद सापकोटाले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग छलफलसमेत गरेका छन् । भेटमा दुई देशबीचका व्यापारिक नाका खुला गराउने सम्बन्धमा छलफल भएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार भेटमा राजदूत यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गर्दै नाका सञ्चालनका लागि चीन सदैव सकारात्मक रहेको बताएकी थिइन् । तातोपानी नाका बन्द हुनुपूर्व दैनिक चारदेखि आठ कन्टेनर चिनियाँ सामान नेपाल आयात हुँदै आएको थियो । स्याउ, मेशिनरी उपकरण, रोल कपडा नाकाबाट आयात भइरहेका थिए ।
जुरे पहिरो, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायत विपद्का कारण तातोपानी नाका बन्द हुने र खुल्ने हुँदै आएको छ । नाका पूर्ण रूपमा सञ्चालन गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार व्यापार संघले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।