काठमाडौं । देशकै राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण अगाडी बढाइएको नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गको मुख्य सुरुङ २.६८८ किलोमिटरको सोमबार वारपार छेडिएको छ ।
सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो ।
आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो ।
सुरुङ प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने छ । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।
आयोजनामा तीनओटा अन्डरपास, चारओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा–आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, सथानीयको अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो ।
तस्वीर सबै: सुनिल शर्मा/ आर्थिक अभियान