वैशाख १९, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भीमकाय बैङ्कहरूलाई टुक्र्याउनेबारे सोचिरहेका छन् । ब्लुम्बर्ग टीभीले सोमवार बताएअनुसार ट्रम्पले सन् १९३० को दशकको ग्लास–स्टेगल कानूनलाई ब्युँताउनेबारे निकै तत्परतापूर्वक सोचिरहेका छन् । यस कानूनले व्यावसायिक र लगानी बैङ्कहरूलाई अलग्याएको थियो । यसले सेक्युरिटिज कम्पनी र लगानी बैङ्कहरूलाई निक्षेप लिनमा रोक लगाएको थियो । आफ्नो चुनावी अभियानमा नै ट्रम्पले २१औं शताब्दीको ग्लास–स्टेगल कानूनको नयाँ संस्करण ल्याउने प्रतिबद्धता गरेका थिए । यसलाई कङ्ग्रेसले पारित गर्नुपर्ने बताइएको छ ।
यसअघि सन् १९९९ मा तत्कालीन राष्ट्रपति बिल क्लिण्टनले वित्तीय विनियममा हस्ताक्षर गरेर सो कानूनलाई रद्द गरेका थिए । सोही कारण सिटी गू्रप र जेपी मोर्गन जस्ता ठूला बैङ्कको उदय भएको थियो भने सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट आएको विश्लेषण एकाथरि विश्लेषकहरूले गरेका छन् । ग्लास–स्टेगल कानूनको संस्करण पुनः ल्याउन अर्थमन्त्री स्टेभन म्नुचिन र राष्ट्रिय आर्थिक परिषद्का निर्देशक गेरी कोनलगायतका अधिकारीहरूले समेत ट्रम्पलाई सघाइरहेका छन् । एजेन्सी