कर्जाको माग नहुँदा वित्तीय संस्थामा लगानीयोग्य रकम अर्थात् तरलता थुप्रिरहेका बेला देशको वैदेशिक व्यापार (आयात/निर्यात) बढेपछि कर्जा प्रवाह बढ्न थालेको छ ।
आयातका लागि व्यवसायीले लिने कर्जाका साथै शेयर बजार र गाडी खरीदका लागि प्रवाह हुने कर्जा बढ्दा बैंकहरूको समग्र कर्जा वृद्धि भएको नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को माघसम्मको अर्थतन्त्रसम्बन्धी प्रतिवेदनमा देखाइएको छ । अर्थतन्त्र सुधारोन्मुख रहेको भनी नेपाल राष्ट्र बैंकले दाबी गरे पनि बजारमा माग र आपूर्ति नबढेको र अर्थतन्त्रका विभिन्न अवयवमा सकारात्मक परिवर्तन देखिन नसकेको समयमा राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्र बिस्तारै सकारात्मक हुन थालेको देखाएको हो ।
राष्ट्र बैंकले जारी गरेको पछिल्लो प्रतिवेदनले विप्रेषण आप्रवाह बढेको, विदेशी विनिमय सञ्चिति बढेको, मुद्रास्फीति पनि कम रहेको आदि सकारात्मक पक्ष देखाएको छ । बैंकहरूको टाउको दुखाइ भइरहेको अधिक तरलताको समस्या रहे पनि चालु आर्थिक वर्षको प्रथम ७ महीनामा निक्षेपभन्दा बढी रकम कर्जा प्रवाह भएको छ । कर्जा प्रवाह हुनुको अर्थ बजारमा माग बढेको छ भन्ने लगाइन्छ । यसरी बढेको कर्जा कुन क्षेत्रमा बढेको हो भन्ने कुराले विशेष अर्थ राख्छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँले बढेको छ । यो ५ दशमलव ६ प्रतिशतको वृद्धि हो । अघिल्लो आवको यस अवधिमा कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४ दशमलव १) प्रतिशतले बढेको थियो ।
वैदेशिक व्यापारमा बैंकहरूको कर्जा प्रवाह बढेका कारण समग्र कर्जा प्रवाह बढेको हो । आव २०८१/८२ को ७ महीनामा कुल वस्तु निर्यात ४६ दशमलव ५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यसै अवधिमा कुल वस्तु आयात पनि १० दशमलव १ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब पुगेको छ । यसरी वस्तु आयात गर्दा उद्योगी, व्यापारीले सामान आयात गर्ने ट्रस्ट रिसिप्ट (आयात) कर्जा चालू आवको माघमा ६९ दशमलव ५ प्रतिशतले बढेको छ । गत आवको असारसम्म आयातमा बैंकहरूले ८२ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघसम्ममा बढेर १ खर्ब ४० अर्ब करोड रुपैयाँ नाघेको छ । यसबाहेक असारको तुलनामा माघसम्ममा मार्जिन प्रकृतिको कर्जा (शेयर धितो कर्जा) २७ दशमलव ८, हायर पर्चेज कर्जा ४ दशमलव ५ र नगद प्रवाह कर्जा ३ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।
निश्चय नै कर्जा प्रवाह बढ्नु अहिलेको अवस्थामा बैंकहरूका लागि निकै सकारात्मक हो तर यस्तो कर्जा अर्थतन्त्रलाई चलायमान बनाउने गरी उत्पादनमूलक क्षेत्रमा गएको छ भन्ने चाहिँ स्पष्ट हुँदैन । सबैभन्दा बढी कर्जा बढेको क्षेत्र आयात देखिन्छ । यस्तो आयात औद्योगिक कच्चा पदार्थ वा सहायक पदार्थ भएका भए त्यो अर्थतन्त्रको विस्तारका लागि सहयोगी मान्न सकिन्थ्यो । तर, बढेको आयात कर्जा हेर्दा विद्युतीय सवारीलगायतका सामानका लागि भएको देखिन्छ । त्यस्तै शेयर धितो कर्जामा लगानी बढेको छ । घरजग्गा क्षेत्रमा भने कर्जा खासै बढ्न सकेको छैन । त्यसैले अहिले बढेको कर्जाले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने कुरा स्पष्ट हुन्न ।
भारतले तेस्रो मुलुकबाट भटमास र सूर्यमुखी तेल आयात गर्दा भन्सार वृद्धि गरेपछि अहिले नेपालबाट भारततर्फ ठूलो परिमाणमा यस्तो तेल निर्यात भइरहेको छ । भन्सार अन्तरका कारण बढी फाइदा भएकाले यसरी नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा पदार्थ मगाएर तेल भारततर्फ निर्यात गरेका छन् । कर्जा यस क्षेत्रमा पनि गएको हो कि भन्ने देखिन्छ । यस्तो निर्यात क्षणिक हो र यसले अर्थतन्त्रलाई दिगो बनाउँदैन ।
त्यसैले केही पक्ष सकारात्मक देखिनु राम्रो भए पनि मुख्य रुपमा अर्थतन्त्रको आधारभूत पक्ष बलियो नभई हुँदैन । त्यसलाई बलियो बनाउन आवश्यक छ । त्यो भनेको उत्पादन वृद्धि नै हो । विप्रेषणमा मात्रै निर्भर हुँदा अहिले सकारात्मक देखिएका तथ्यांक कुनै पनि क्षण नकारात्मक हुन सक्छ भन्नेमा ध्यान जानु आवश्यक छ ।