अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा व्यापक कर वृद्धि गर्न आदेश दिएका छन् । उनले क्यानाडा र मेक्सिकोको हकमा फेन्टानिल र अवैध आप्रवासीको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न माग गरेका छन् ।
अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार अमेरिकाका शीर्ष दुई व्यापारिक साझेदार मेक्सिको र क्यानडाले ट्रम्पको करको सामना गर्न मिलेर काम गर्ने बताएका छन् । ती देशले तत्काल प्रतिशोधात्मक कर लगाउने जनाएका छन् । चीनले विश्व व्यापार संगठनमा ट्रम्पको कदमलाई चुनौती दिने र अन्य 'प्रतिकारात्मक कदम' चाल्ने बताएको छ ।
तीन कार्यकारी आदेशमा ट्रम्पले मेक्सिकन र अधिकांश क्यानेडियन आयातमा २५ प्रतिशत र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएका छन् । उनले फेन्टानिल, घातक ओपिओइड र अमेरिकामा अवैध आप्रवासनलाई लिएर राष्ट्रिय आपतकालीन अवस्था घोषणा नगरेसम्म कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
ट्रम्पले 'अमेरिकीहरूको सुरक्षाका लागि' कर वृद्धि आवश्यक रहेको बताएका छन् । अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले तत्काल प्रतिशोधात्मक करको आदेश दिएकी थिइन् भने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशले १५५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत कर लगाउने बताएका थिए ।
रोयटर्सका अनुसार ट्रुडोले अमेरिकी नागरिकहरूलाई चेतावनी दिँदै भनेका छन्, 'ट्रम्पको योजनाले उनीहरूको किराना र पेट्रोलको लागत बढाउनेछ । सम्भावित रूपमा अटो एसेम्ब्ली प्लान्टहरू बन्द गर्नेछ र निकेल, पोटास, युरेनियम, स्टील र एल्युमिनियम जस्ता सामानहरूको आपूर्ति सीमित हुनेछ ।'
उनले आफ्ना नागरिकलाई अमेरिका नजान र अमेरिकी उत्पादन बहिष्कार गर्न आग्रह गरेका छन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्ना अर्थव्यवस्था मन्त्रीलाई प्रतिशोधात्मक योजना लागू गर्न निर्देशन दिइरहेकी छिन् । तर यसबारे विस्तृत विवरण दिएकी छैनन्। एजेन्सीहरू