उदार अर्थतन्त्रमा निजीक्षेत्रले बजार व्यवस्थित बनाउनुपर्छ । तर, नेपालको निजीक्षेत्रले बजारलाई व्यवस्थित बनाउन सकिरहेको छैन । त्यसो त उपभोक्ता पनि आफ्नो अधिकारका बारेमा त्यति सजग छैनन् । उपभोक्ता जागरुक छैनन् भन्दैमा कमसल सामान विक्रीवितरण गर्नु व्यावसायिक नैतिकता र दायित्व हुँदै होइन । तर, अहिले व्यवसायी आफ्नो दायित्व र नैतिकता बिर्सेर जसरी पनि कमाउनुपर्छ भन्ने देखिन्छन् । यसले गर्दा उपभोक्ताले गुणस्तरीय वस्तु र सेवा उपभोग गर्न पाइरहेका छैनन् । अहिले अभावको बहानामा सुन व्यवसायीले कमसल सुन उपभोक्तालाई बेचिरहेको कुरा सार्वजनिक भएको छ । यसको मुख्य कारण उपभोक्ता सचेत नभएकाले व्यवसायीको मनपरी बढेको हो ।
बजारलाई व्यवस्थित र मर्यादित बनाउन सरकारबाट नियमित अनुगमन हुनुपर्छ । यसका लागि नियामक निकाय पनि छ । तर, नियामक निकाय व्यवसायीसँगको स्वार्थप्रेरित सम्बन्ध अर्थात् बार्गेनिङमा छ । बेलाबेलामा व्यवसायी कारबाहीमा परे भन्ने सुनिन्छ । वास्तवमा त्यो कारबाहीभन्दा पनि व्यवसायीसँग बार्गेनिङ नमिलेका कारण कारबाहीको नाटक गरिएको हो । नियामक निकायबाट कुनै कारबाही नहुनुको अर्थ व्यवसायीसँग रकम लेनदेनको कुरा मिलेको सहजै अनुमान गर्न सकिन्छ ।
(उपभोक्ता संरक्षण मञ्चका सचिव रामचन्द्र सिंखडासँगको कुराकानीबाट)
वर्ष ८, अंक १३३, बुधवार, १७ माघ, २०६९