काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच रहेको सम्बन्धको चिसोपन मन्त्री खड्काका विभिन्न क्रियाकलापमा देखिन थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कुलमानप्रतिको असन्तोष संसद्लगायत विभिन्न मञ्चमा खुला रूपमा प्रकट गर्दै आएका छ । कांग्रेस–नेकपा (माओवादी केन्द्र) सरकार गठनपछि ३ वर्षअघि ओलीले नियुक्त गरेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाई कुलमानलाई पुन: प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । तर, अहिले पुन: ओली नेतृत्वको सरकार बनेपछि कुलमानलाई अप्ठ्यारो पार्ने गरी सरकारले प्रयत्न गरेको देखिन्छ ।
मन्त्रालय स्रोतका अनुसार मंगलवार कुलमानसँग विभिन्न १५ बुँदामा प्राधिकरणले विगत ४ वर्षमा गरेका कामको विवरण मागेको छ । त्यसैगरी, अध्यक्ष र कार्यकारी निर्देशकको सल्लाहमा तय हुने प्राधिकरणको सञ्चालक समिति बैठक पनि मन्त्रीको निर्देशनमा मन्त्रालयका सहसचिवबाट बुधवार बोलाइएको सूचना सञ्चालक समिति सदस्यहरूलाई गएको थियो ।
- कुलमानसँग चिसिएको सम्बन्धको असर ऊर्जामन्त्रीका क्रियाकलापमा
- सहसचिव प्रयोग गरेर प्राधिकरण सञ्चालक समितिको बैठक आह्वान
- बाढीपहिरोले प्राधिकरण र निजीक्षेत्रका धेरै आयोजनामा ठूलो असर गरे पनि यस विषयमा सञ्चालक समिति बैठक बसेन
- आफूले चाहेअनुसार सरूवा नगरेपछि मन्त्री कुलमानसँग क्रुद्ध
‘हालको कानूनी व्यवस्थाअनुसार सञ्चालक समिति बैठकको एजेन्डा कार्यकारी निर्देशकले तय गर्नै गर्छ । र सञ्चालकहरूलाई बैठकमा बोलाउने पनि उनैले गर्छन् । तर, यसपालि मन्त्रालयका सहसचिवबाट बुधवार बिहान ११ बजे आउन सूचित गरियो,’ प्राधिकरणका एक सञ्चालक समिति सदस्यले भने । तर, पछि मन्त्रीको व्यस्तताका कारण देखाउँदै बैठक स्थगित भएको सूचना आयो ।’
१५ बुँदे निर्देशनमा पनि कुलमानलाई प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली, आर्थिक प्रशासन विनियमावली र त्यससँग सम्बद्ध विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरू, उक्त अवधिमा सञ्चालक समितिले कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेका अधिकारहरूको विवरण र प्राधिकरणले छिमेकी मुलुकका व्यावसायिक संस्थाहरूसँग गरेको सम्झौता एवं समझदारीपत्रहरूको विवरण पेश गर्न भनिएको छ ।
प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको शेयर संरचना एवं ती कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीको विवरण, सहायक कम्पनीहरूको विगत ४ वर्षको वित्तीय विवरण, प्राधिकरणले खरीद सम्झौता गरेर पनि पूर्णरूपमा विद्युत् नलिएका परियोजना, खिम्ति–१ जलविद्युत् आयोजनासँग स्वामित्व हस्तारण सम्बन्धमा प्राधिकरणले गरेको वार्ता र विगत ४ वर्षमा स्वीकृत भएका बोलपत्रसम्बन्धी विवरण र डेडिकेटेड फिडर/ट्रंक लाइन सम्बन्धमा प्राधिकरणले उठाउन बाँकी महशुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन पनि पठाउन भनिएको छ । त्यसैगरी प्राधिकरणले खरीद गरी जडान हुन बाँकी ट्रान्सफर्मरको विवरण, स्मार्ट मीटरको विवरण बेरुजुसम्बन्धी विवरण पनि मागिएको छ ।
प्राधिकरण स्रोतका अनुसार मन्त्री खड्काको स्वार्थअनुसार प्राधिकरणले आफ्ना कर्मचारी सरुवा नगर्दा घिसिङसँग चिसिएको सम्बन्ध झन् बिग्रेको हो । यसअघि प्राधिकरणले गरेको सरुवामा आफूले चाहेको व्यक्ति नपारिदिँदा खड्का घिसिङसँग रिसाएका हुन् ।
तिक्ततापूर्ण सम्बन्धको असर प्राधिकरणको काममा पनि प्रत्यक्ष परेको प्राधिकरणका एक सञ्चालकले बताए । हालैको बाढीपहिरोले धेरै जलविद्युत् तथा प्रसारण लाइनहरूमा असर गर्यो । देशकै सबैभन्दा ठूलो तामाकोशी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति भयो । विभिन्न ठाउँमा प्रसारण लाइन नै बगाएर लग्यो । विभिन्न क्षेत्रमा १७ अर्ब रुपैयाँको क्षति पुगेको र जलविद्युत् क्षेत्रमा मात्र ४ अर्ब रुपैयाँ बराबर क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । ‘बाढीपहिरोले प्राधिकरण र निजीक्षेत्रका आयोजनामा ठूलो क्षति गर्दा पनि प्राधिकरणको सञ्चालक समिति बैठक बोलाइएको छैन,’ ती सञ्चालकले भने, ‘यस्तो विपद्को बेला सञ्चालक समितिले व्यवस्थापनलाई शीघ्र काम गर्न निश्चित म्यान्डेट दिने र बजेट स्वीकृत गर्ने प्रचलन थियो जुन यसपालि हुन सकेन ।’
घिसिङसँग ऊर्जामन्त्रीले मागेको १५ बुँदे विवरण :
१. नेपाल विद्युत् प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवं आर्थिक प्रशासन विनियमावली (संशोधनसमेत) र त्यससँग सम्बद्ध विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरू ।
२. नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।
३. नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुकहरूका व्यावसायिक संस्थाहरूसँग गरेको विभिन्न मितिका सम्झौता एवं समझदारीपत्रहरूको विवरण ।
४. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको शेयर संरचना एवं ती कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट हाल काजमा खटिएका कर्मचारीको विवरण ।
५. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूको विगत ४ वर्षको वित्तीय विवरण ।
६. नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट एयधभच भ्खबअगबतष्यल पूर्णरूपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूको विवरण ।
७. हिमाल पावर लिमिटेडद्वारा प्रवद्र्धित ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत् प्राधिकरणले गरेको वार्तासँग सम्बद्ध विवरण/प्रतिवेदनहरू ।
८. विगत ४ आर्थिक वर्षदेखि प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्रसम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम, भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बद्ध दायित्वहरूको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।
९. विगत ४ वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमणसम्बन्धी विवरण । ती भ्रमणसँग सम्बद्ध खर्चको विवरण एवं ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।
१०. डेडिकेटेड फिडर/ट्रंक लाइनसम्बन्धी नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी रहेको महशुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवं उक्त महशुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ।
११. नेपाल विद्युत् प्राधिकरणले विभिन्न बोलपत्रमार्फत खरीद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफर्मरको अद्यावधिक विवरण (खरीदका लागि प्राप्त माग संकलन र खरीद योजना, खरीद नं., खरीद मूल्य एवं हालको अवस्थासहित) ।
१२. हाल बोलपत्र आह्वानका लागि तयारी भइरहेको स्मार्ट मीटरलगायत वस्तु/सामग्रीको विवरण एवं प्रतिस्थापन कार्ययोजना (परिमाण एवं अनुमानित लागत रकमसहित) ।
१३. नेपाल विद्युत् प्राधिकरणले आफैले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्टहरू स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरीद भएमा विभिन्न पोलको खरीद मूल्य एवं त्यससम्बन्धी परिमाणहरूको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।
१४. महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फर्छ्योट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।
१५ नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखका रूपमा गत ५ वर्षदेखि को–को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।