काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए ।
यस अघि घिसिङलाई पदबाट मुक्त गर्न मन्त्री खड्काले पटक पटमक स्पष्टीकरण सोधेका छन् ।
डेडिकेटेड फिडर र ट्रंक लाइन महशुलसम्बन्धी विवाद मन्त्री खड्का र घिसिङबीचको विवादको कारक बनेको छ । खड्काले उद्योगीलाई महशुल नतिराउन घिसिङलाई पटकपटक ‘तपाईंलाई पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोध्दै आएका छन् ।
गत फागुन १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न घिसिङलाई पत्र पठाएका थिए । उनले यसअघि घिसिङलाई २२ असोजमा १५ बुँदे, १३ कात्तिकमा ६ बुँदे र २२ पुसमा ९ बुँदे स्पष्टीकरण सोधेका थिए । घिसिङले यसअघि दिएको जवाफ वस्तुगत र चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले स्पष्टीकरण सोधेका थिए ।