नेपालमा आर्थिक प्रगतिका लागि व्यावहारिक पक्षलाई भन्दा सैद्धान्तिक पक्षलाई हेर्ने गरिएको छ । त्यही भएर विकास निर्माणका र प्रगतिका लागि ठेलीका ठेली अवधारणापत्र र कार्यक्रम बने पनि त्यसले काम भने गरेको छैन । सिद्धान्तत: ती योजना र आयोजनामा खोट देखाउने ठाउँ कमै पाइन्छ तर कार्यान्वयन पक्ष कमजोर छ । यसो हुनुको कारण नै व्यावहारिकतालाई ध्यान नदिनु हो भन्ने देखिन्छ । यद्यपि सिद्धान्त नै असफल हुने भने होइन । नेपालको विकासका लागि पर्यटन क्षेत्र निकै उपयोगी र तल्लो तहसम्म लाभ पुग्ने खालको भए पनि र सरकारले बारम्बार पर्यटनलाई प्राथमिकता दिएको भने पनि यस क्षेत्रमा सोचेजस्तो काम भएको छैन, सोचेजस्तो लाभ लिन सकिएको छैन ।
यसको अर्थ हो सरकारी नीति व्यावहारिकताको कसीमा असफल भएका छन् । यसलाई समीक्षा गरेर परिवर्तन गर्नभन्दा पुरानै कुरामा रमाइरहने प्रवृत्ति सरकार र व्यवसायीमा समेत देखिन्छ । कोरोनापछि प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटन पुरानै लयमा करीब करीब फर्किसकेको छ । यूरोपका केही क्षेत्रमा पर्यटक बढी आएर नियन्त्रण गर्नेतर्फ आवाज उठेको छ र त्यसअनुसार नीति लिन थालिएको छ । नेपालमा पनि संख्यात्मक हिसाबले कोरोनापूर्वको अवस्था पुग्न थालेको देखिन्छ तर त्यसयता यस क्षेत्रमा भएको थप लगानी र पर्यटकको बसाइ, खर्च आदिका हिसाबले यो निकै कम रहेको देखिन्छ ।
मुलुकमा अहिले युवा पलायन भएको विषयमा निकै चर्चा र बहस बाक्लिन थालेको छ । तर, युवालाई रोक्ने सस्तो र सजिलो उपाय सुझाउन भने विज्ञहरूले सकेको देखिँदैन । त्यस्तै अहिले आन्तरिक बसाइसराइका कारण पहाडी क्षेत्रमा जनसंख्या पातलिँदै गएको छ भने तराई र शहरहरूको यो संख्या बढ्दो छ । यसलाई कम गर्न पनि पर्यटन सबैभन्दा बलियो आधार हो भन्नेमा कमैको ध्यान गएको देखिन्छ ।
वैदेशिक रोजगारी र बसाइँसराइ
नेपालमा वैदेशिक रोजगारीको अवस्था हेर्दा वैदेशिक रोजगारीमा अदक्ष कामदारको अंश बढी भएकाले प्रतिव्यक्ति विप्रेषणसमेत कम रहेको छ । औसतमा प्रतिव्यक्ति प्रतिमहीना ३० हजार रुपैयाँको हाराहारीमा विप्रेषण स्वदेशमा प्रवाह हुने गरेको छ ।
नेपालको वैदेशिक रोजगारी असुरक्षित छ । दुई दिनमा तीनओटा शव नेपाल आउने गर्छन् । अहिलेसम्म हजारौं नेपालीले वैदेशिक रोजगारबाट ज्यान गुमाएका छन् भने त्यति नै संख्यामा अंगभंग भई फर्कने छन् । एकातिर विश्वव्यापीकरण र उदारीकरणको लहर, अर्कोतिर मध्यपूर्वका देशमा कच्चा तेलको उत्खनन र त्यसबाट प्राप्त आम्दानीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढ्न थाल्यो । ती देशमा न्यून ज्याला भए पुग्ने अदक्ष कामदारको माग बढ्यो । नेपालीका लागि त्यो अवसर हुन पुग्यो । त्यसैले अदक्ष युवाहरू यी देशमा जान थाले । परिणामस्वरूप अहिले नेपालका ग्रामीण बस्तीहरू रित्तिँदै छन् । खेतीयोग्य जमीन बाँझो रहनुका साथै स्थानीय बासिन्दाबीच सामाजिक तथा सांस्कृतिक सहयोगसमेत नपाउने अवस्था छ ।
स्थानीय उत्पादनलाई पर्यटनको अग्र र पृष्ठ सम्बन्धसँग जोडी त्यसको विकास गर्नुपर्छ । त्यसो हुँदा स्थानीय कृषकको उत्पादनले बजार पाउँछ र तिनलाई त्यहाँ रोक्न सकिन्छ ।
बेलायतलगायत पश्चिम यूरोपमा १८औं शताब्दीमा भएको औद्योगिक क्रान्तिको परिणामस्वरूप अर्थतन्त्रमा संरचनात्मक परिवर्तन देखिएको थियो । त्यहाँ ग्रामीण जनसंख्या बसाइँ सरेर आउँदा शहरी जनसंख्या बढेको थियो । हामीकहाँ औद्योगिक विकासले गर्दा ग्रामीण जनसंख्या शहरतर्फ सरेको होइन । सहज जीवनको खोजीमा बसाइँसराइ भएको देखिन्छ । नेपालमा प्रत्येक वर्ष ५ लाख युवा श्रमबजारमा आउने सरकारी तथ्याड्कले देखाउँछ । तर, आन्तरिक श्रम बजारमा करीब ५० हजार युवालाई मात्र रोजगारीको अवसर छ । बाँकी युवाका लागि वैदेशिक रोजगारीबाहेक अरू केही विकल्प देखिँदैन ।
नेपालको पहाडी क्षेत्रको कठिन भूगोलका कारण सहज जीवन यापनका लागि तराई र उपत्यकामा बसाइ सर्ने क्रम तीव्र भइरहेको छ । यसले गर्दा हिमाली र पहाडी भूभागमा विकासका पूर्वाधार बने पनि जनतालाई त्यहाँ टिकाउन सकिएको छैन । जनसंख्यामा आएको यो परिवर्तनले देशमा राजनीतिक, सामाजिक र आर्थिक समस्या सृजना गर्न थालिसकेको छ । जग्गाको खण्डीकरणले कृषिमा व्यावसायिकता रोकिरहेको छ । सहज ठाउँका जग्गाजमीनको भाउ बढेर कमाइको ठूलो अंश घरघडेरीमा खर्च हुन थालेको छ । उद्योग खोल्नका लागि लगानी निकै बढ्ने देखिएको छ । पहाडी क्षेत्रमा बसोवास नभए पनि जलविद्युत् आयोजनाहरू बनाउन ठूलो रकम मुआब्जाका लागि खर्च हुने गरेको छ । यो अवस्थालाई कम गर्न पर्यटन निकै सहयोगी हुने देखिन्छ ।
पहाडमा युवा रोक्न पर्यटन
नेपालको पर्यटन भनेको पहाडी पर्यटन हो भन्न सकिन्छ । पहाडी उच्च भागमा रहेको देवालय आन्तरिक पर्यटनको मुख्य प्रडक्ट मान्न सकिन्छ । ती क्षेत्र नै बाह्य पर्यटनका लागि पनि महत्त्वपूर्ण छन् । त्यस्तै नेपालको हिमाल, पदयात्रा गन्तव्य, हिमाली र पहाडी जनजीवनमा धेरै विविधता छ । यी क्षेत्रबाट नै जनसंख्या स्थानान्तरण बढी भइरहेको पाइन्छ । अहिले यी ठाउँमा रोकिएको स्थानान्तरणको कारण भनेको पर्यटन नै हो । ती क्षेत्रमा जनता टिकाउने वा अन्यत्रबाट लैजाने आधार भनेको पनि पर्यटन नै हो । आन्तरिक वा बाह्य पर्यटकको संख्या बढेसँगै ती क्षेत्रमा होटेलहरू चाहिन्छन् । पर्यटकको बसाइका लागि र खानपानका लागि सेवा दिने व्यक्ति र खाद्यवस्तु चाहिन्छन् । त्यस्तै ती क्षेत्रमा पुगेको व्यक्तिले केही न केही उपहार वा सम्झनाका वस्तु लिएर जान्छन् । त्यस क्षेत्रमा पाइने सामग्री किन्छन् । त्यसले गर्दा स्थानीय उत्पादनले मूल्य पाउँछ । त्यो उत्पादनका लागि त्यहाँ मानिशहरू बस्न आवश्यक छ । मुस्ताङको भ्रमणमा जाने त्यहाँ घुमेर मात्र फर्कंदैन, विभिन्न सामान किनेर पनि ल्याउँछ । त्यसका लागि पसल चाहियो । बस्न खान होटेल चाहियो । त्यही भएर त्यहाँका स्थानीय अहिले यी व्यवसायका लागि त्यहाँ रोकिएका छन् । त्यस्तै यस्ता पर्वतीय क्षेत्रमा बाहिरबाट गएका नेपालीका बसोवास पनि उल्लेख्य बढिरहेको छ । तिनले त्यहाँ विभिन्न व्यवसाय गरिरहेका छन् । इलाममा छुर्पी बेच्न अन्य क्षेत्रका मान्छेले पसल खोलेका छन् । धादिङको मान्छेले मुस्ताङमा होटल खोलेको छ । यसरी पहाडी बस्ती गुल्जार हुन मद्दत पुगेको छ ।
नेपालीको जीवनस्तर बढेसँगै घुमघामको संस्कृति बढेको छ । यसले नेपालमा युवालाई रोजगारी दिएको छ । र, तिनलाई देशभित्र नै रोकेको छ । त्यस्तो ठाउँमा पर्यटन फस्टाएको छ जहाँ २/३ दिनमा यात्रा गर्न सकिन्छ । सडक पुगेको छ र बसोवासका लागि होटेल आदिको सुविधा छ ।
पर्यटन कार्यक्रम
पर्यटक आगमन संख्यामा वृद्धि गरी नेपाल बसाइको अवधि लम्ब्याउन आवश्यक छ । पर्यटकको दैनिक खर्चमा वृद्धि गर्न लगाउने भनेर विशिष्टतामा पनि ध्यान दिनुपर्छ । रोजगारीको अवसर वृद्धिका लागि यसो गर्न आवश्यक छ । तर, यी सबै कुरा हुँदाहुँदै पनि पर्यटक संख्यामा वृद्धि हुन सकेको छैन, कारण नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुनु हो । पर्यटनमा स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्न सक्नुपर्छ । पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटकीय पूर्वाधारको विकास निकै महत्त्वपूर्ण छ । हामीले धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गरी थप आकर्षक गन्तव्यको विकास गर्नुपर्छ ।
पर्यटकलाई सांस्कृतिक सम्पदासँग जोड्ने आकर्षक कार्यक्रम बनाइनुपर्छ । स्थानीय उत्पादनलाई पर्यटनको अग्र र पृष्ठ सम्बन्धसँग जोडी त्यसको विकास गर्नुपर्छ । त्यसो हुँदा स्थानीय कृषकको उत्पादनले बजार पाउँछ र तिनलाई त्यहाँ रोक्न सकिन्छ । नेपालमा ग्रामीण पर्यटनको निकै सम्भावना छ । यसका लागि पर्यटनबाट भएको आम्दानीको यथोचित सदुपयोग, बाँडफाँट तथा वितरण गर्न सरकारले नीति तथा कार्यक्रम बनाउनुपर्छ । यसका साथै, पर्यटन उद्योगमा स्थानीय समुदायको संलग्नतालाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि क्षमता विकासका कार्यक्रम ल्याइनुपर्छ । यसरी पर्यटनका माध्यमबाट काम वा रोजगारी सृजना गरी गरीबी न्यूनीकरण गर्न मद्दत पुग्छ ।
नेपालमा सांस्कृतिक र साहसिक पर्यटनको ठूलो सम्भावना छ । साहसिक पर्यटनभित्र हिमाल आरोहण, ट्रेकिङ, र्याफ्िटङ, बन्जी, प्याराग्लाइडिङ, स्काई डाइभ, जंगल सफारी, क्यानोनिङलगायत पर्छन् । सबैभन्दा धेरै आम्दानी सृजना हुने पनि क्षेत्र भनेको साहसिक पर्यटन नै हो । यस क्षेत्रमा हाम्रो ध्यान एकदमै कम भयो । यो पर्यटकीय प्रडक्ट हामी गुमाइरहेका छौं । विश्वका ठूला हिमालहरू नेपालमा छन्, तर आरोहीहरू विदेशमा रहेका साना हिमाल चढ्न आकर्षित देखिन्छन् । मतलब, हामीले हिमालकै बजारीकरण गर्न पनि चुक्दै गएका छौं । सांस्कृतिक रूपमा पनि हामी धेरै धनी छौं । तर, यी क्षेत्रमा पर्यटक ल्याउने व्यावहारिक र व्यावसायिक नीति बन्न सकेको छैन ।
नेपालको हिमाली र पहाडी भूभाग पर्यटनका लागि विशेष क्षेत्र हुन् । आन्तरिक र बाह्य पर्यटकलाई त्यहाँ पुर्याउन सक्ने हो भने स्थानीय रूपमा नै रोजगारीका अवसर खुल्छन् । स्थानीय उत्पादनले बजार पाउँछ । युवालाई यहाँ रोक्न सकिन्छ । पर्यटनले तल्लो तहदेखि माथिल्लो तहसम्मलाई कमाउने अवसर दिन्छ ।
हामी साहसिक र सांस्कृतिक पर्यटनमै केन्द्रित हुनु आवश्यक छ । विश्व्यापी रूपमै साहसिक पर्यटनमा बढी आकर्षण देखिन्छ । यो क्षेत्रमा पर्यटकले पनि मोटो रकम खर्च गर्छन् । तर, हामी विपरीत दिशाबाट परिचालित भइरहेका छौं । त्यो कमीकमजोरी सुधार गर्नुपर्छ । नेपाल पर्यटक प्रडक्ट नभएको होइन, प्रचार र ब्रान्डिङ नभएको मात्र हो । निजी क्षेत्रले पनि पर्यटनमा ठूलो लगानी गरिरहेको छ । अर्बौं लगानी भएका होटेलले पनि अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ । निजीक्षेत्रले अन्तरराष्ट्रिय बजारीकरणमा दिल खोलेर खर्च गर्नुपर्छ । पाँच हजार ५०० मीटरभन्दा अग्ला १ हजार ९१३ चुचुरामध्ये ३२६ ओटा मात्रै पर्वतारोहणका लागि खुला गरिएका छन् । तर, यसको प्राकृतिक वैभव देखाउन विदेशी पर्यटक भित्त्याउने प्रडक्टको प्रचार पुगेकै छैन ।
विप्रेषणको बाढी आउनुअघि सीमित विदेशी मुद्रा आर्जनको स्रोत भएका वेला पर्यटनले दिएको योगदान उल्लेखनीय थियो । सन् १९९० को दशकपछि सघन भएको वैदेशिक रोजगारी, अन्तरराष्ट्रिय व्यापार तथा लगानीको अवसरका कारण नेपालीहरू भारतबाहेकका तेस्रो मुलुकमा काम गर्न जान थाले । नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण हुन पुग्यो, पर्यटन क्षेत्र कमजोर हुन थाल्यो ।
अहिले मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा दुई तिहाइ अंश विप्रेषणको रहेको छ । निर्यात, पर्यटन, विदेशी लगानी र सहयोगको एक तिहाइ मात्रै योगदान छ । पछिल्ला १ दशकको वार्षिक औसत लिँदा पर्यटनको आम्दानीले देशको विदेशी मुद्रा आर्जनमा जम्मा ५ दशमलव २ प्रतिशत मात्रै योगदान गरेको छ ।
पहाडी क्षेत्रमा पारेको प्रभाव
हिमाली क्षेत्रका स्थानीय अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सृजना गर्न र नागरिकको जीवन उकास्न पर्यटनले दिएको योगदानलाई बिर्सन मिल्दैन । चौंरीपालन तथा आलु र फापरजस्ता सीमित परम्परागत खेतीमा निर्भर हिमाली क्षेत्रका नागरिकको जीवन पर्यटक आगमनले फेरिएको छ । खुम्बु क्षेत्र र लाङटाङ त्यसका बलियो उदाहरण हुन् । नेपाल आउने पर्यटकमध्ये कम्तीमा १६ प्रतिशत पदयात्रा र पर्वतारोहणका लागि आउने तथ्यांक छ । ती पदयात्रीका लागि सेवा दिँदा स्थानीय अर्थतन्त्र सबल हुन्छ । त्यसले गर्दा ती क्षेत्रका बासिन्दाहरूलाई त्यहाँ टिकाउँछ । यसले दिगो पर्यटनको आधार पनि तय गर्छ ।
पदयात्रामा नेपाल विश्वमै विशिष्ट मानिए पनि पर्यटन क्षेत्रले फड्को मार्न किन सकेन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यसका लागि अरूले गरिदिएको प्रचार विशेष छ तर नेपालले आफूलाई विश्वबजारमा ‘ब्रान्डिङ’ गर्न सकेको छैन । पर्यटनमा बजारीकरण महत्त्वपूर्ण छ । त्यस्तै पूर्वाधार निर्माणमा गम्भीर र दरिलो रूपमा काम गर्नुपर्छ । पर्वतारोहण र पदयात्राका उत्कृष्ट गन्तव्य जति नै भए पनि तिनले विश्व पर्यटन बजारबाट प्रशस्त मात्रामा पर्यटक तान्न सकेको छैन । हिमाल चढ्ने र पदयात्रा गर्ने मात्र होइन, हिमाली क्षेत्रमा गरिन सक्ने पर्यटनका कैयौं गतिविधिमा ध्यानै दिइएको छैन ।
विश्वका प्रमुख माध्यमले नेपाललाई पर्यटनको प्रमुख गन्तव्यको सूचीमा कहिल्यै छुटाएका छैनन् । यसको अर्थ नेपालको प्रचारै नभएको होइन प्रचार भइरहेको छ । तर, पर्यटकलाई नेपाल आउने सेवा दिन सकिएको छैन । त्यसअनुसार प्रडक्ट र पूर्वाधार छैन । प्रतिस्पर्धी बजारमा उनीहरूले सजिलै विकल्प पाएकाले नेपाललाई छाडेर अन्त गएका छन् ।
अग्ला पहाडबाट बन्जी, पाराग्लाइडिङ, रक क्लाइम्बिङ, धारिलो छालसहितका नदीमा र्याफ्िटङ लगायतबाट नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विश्व पर्यटन बजारमा चिनाउन सकिन्छ । यसले हिमाली क्षेत्रको पर्यटनमा नयाँ अवसरको ढोका खोल्न सक्छ । तर, यी सबैका लागि पर्यटन पूर्वाधार, ब्रान्डिङ तथा अनेकौं इकोसिस्टमकोे निर्माण र विकास गर्न आवश्यक छ ।
सम्भावना
नेपाललाई पर्यटनबाटै कायाकपलट गर्न सकिन्छ । लाखौं नेपालीलाई रोजगारी सृजना गर्न सकिन्छ । आर्थिक आम्दानीको विस्तार र देशको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिन्छ । तर, कति पर्यटक चाहिने हो, उनीहरूबाट कति पैसा खर्च गराउने हो, ती पर्यटक कहाँबाट ल्याउने हो भन्नेमा स्पष्ट र प्रभावकारी नीति र कार्यक्रमको अभाव छ ।
नेपालको हिमाली र पहाडी भूभाग पर्यटनका लागि विशेष क्षेत्र हुन् । आन्तरिक र बाह्य पर्यटकलाई त्यहाँ पुर्याउन सक्ने हो भने स्थानीय रूपमा नै रोजगारीका अवसर खुल्छन् । स्थानीय उत्पादनले बजार पाउँछ । त्यसका लागि श्रमशक्ति चाहिन्छ । २५/३० हजार रुपैयाँका लागि खाडी मुलुकमा हानिएर दु:ख पाएका युवालाई यहाँ रोक्न सकिन्छ । पर्यटनले तल्लो तहदेखि माथिल्लो तहसम्मलाई कमाउने अवसर दिन्छ । त्यो अवसर नै नेपालको सम्भावना हो । यो सम्भावना उपयोगमा स्पष्ट कार्यक्रम र योजना आवश्यक छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।