काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रमस्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सरकारी कर्मचारीले सास्ती दिने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बद्ध मन्त्रालयका सचिवहरूसँग बुधवार भएको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै सचिवालयले भनेको छ । प्रधानमन्त्रीले पालिकास्तरसम्मै गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न मातहतका निकायलाई अह्राउन श्रमका उच्च अधिकारीलाई निर्देशन दिनुभएको छ ।