काठमाडौं । चालू आर्थिक वर्षको वैशाखमा पनि बैंक, वित्तीय संस्थाको कर्जा प्रवाहमा सुधार देखिएको छ । वैदेशिक व्यापार बढेसँगै बैंक, वित्तीय संस्थाले आयात (ट्रस्ट रिसिप्ट) कर्जाका साथै व्यवसायका लागि दिने आवधिक र चालू पूँजी शीर्षकमा कर्जा बढ्दा समग्र कर्जामा बढोत्तरी देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा बैंकहरूबाट ३ खर्ब ५९ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असारको तुलनामा वैशाखको कर्जा ७ दशमलव ३ प्रतिशतले बढी हो ।
गत आवको ९ महीनामा बैंकहरूको कर्जा प्रवाह २ खर्ब ३३ अर्ब ३० करोड अर्थात् ४ दशमलव ८ प्रतिशतले बढेको थियो । यसैगरी गत आवको वैशाखसम्मको तुलनामा चालू आवको वैशाखसम्ममा कर्जा प्रवाह ८ दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ । बैंकहरूको कर्जा प्रोडक्टका आधारमा सबैभन्दा बढी चालू पूँजी कर्जामा प्रवाह भएको छ । चालू आवको १० महीनामा यस शीर्षकमा १ खर्ब २७ अर्ब १७ करोड रुपैयाँ प्रवाह भएको छ । यो यस वर्ष कुल प्रवाह भएको कर्जाको ३५ प्रतिशत अंश हो ।
वृद्धिदरका हिसाबले भने सबैभन्दा बढी आयात कर्जा ५८ दशमलव १ प्रतिशतले बढेको छ । यसपछि शेयर धितो कर्जाको वृद्धिदर पनि ३९ दशमलव ३ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित वैदेशिक व्यापार बढ्दा बैंकहरूको कर्जा प्रवाह सकारात्मक भएको बताउँछन् । ‘आयात/निर्यातको व्यापार बढ्दै गएको छ,’ उनले भने, ‘यसले गर्दा बैंकहरूले दिने ऋण पनि बढेको छ ।’ जेठ पहिलो साता मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले समग्र मागमा सुधार आएको र अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको बताएको छ ।
न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रय कर्जा व्यवस्थापन सहज हुँदै जाने केन्द्रीय बैंकले विश्लेषण गरेको छ । २०८२ वैशाखमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८ दशमलव ११ प्रतिशत, विकास बैंकहरूको ९ दशमलव ५४ प्रतिशत र वित्त कम्पनीहरूको १० दशमलव ३१ प्रतिशत कायम भएको छ । २०८१ वैशाखमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १० दशमलव ३४ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ८९ प्रतिशत र वित्त कम्पनीहरूको १३ दशमलव ११ प्रतिशत थियो ।
क्षेत्रगत रूपमा भने चालू आवको वैशाखसम्ममा सबैभन्दा धेरै वृद्धि निर्माण क्षेत्रको कर्जामा देखिएको छ । वैशाखसम्ममा १२ दशमलव ३ प्रतिशतले कर्जा बढ्दा २५ अर्ब ५४ करोड लगानी भएको छ । यस्तै बैंकहरूको सबैभन्दा बढी लगानी भएको क्षेत्र थोक तथा खुद्रा व्यवसायमा ४ दशमलव ९ प्रतिशतले बढ्दा ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सबैभन्दा बढी कर्जा भने उपभोग्य क्षेत्रमा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ ।