वीरगञ्ज । भारतबाट विद्युत् आयात कटौती भएपछि बारा पर्सा कोरिडोरका उद्योगमा अघोषित लोडसेडिङ शुरू भएको छ । निर्माण सामग्री उत्पादनको केन्द्र मानिएको कोरिडोरमा विद्युत् कटौती भएपछि यस्ता उद्योग बढी प्रभावित भएको उद्यमीले बताएका छन् ।
माघ महीनादेखि निर्माण सामग्रीको माग बढ्ने भए पनि यही बेला विद्युत् कटौती बढेपछि उत्पादन अवरुद्ध भएको उद्योगी व्यवसायीको गुनासो छ । सिमेन्ट, डण्डी, पाइप, पेन्ट्सजस्ता उद्योग बढी विद्युत् खपत गर्ने उद्योग हुन् ।
बजारमा माग सृजना हुने समयमै विद्युत् कटौतीले उत्पादन गर्न नपाएपछि उद्योगी चिन्तित भएका छन् । बारा पर्सा कोरिडोरमा यस्ता उद्योगको संख्या करीब २ दर्जन जति छ । तर, अहिले अचाक्ली विद्युत् कटौतीका कारण यस्ता उद्योग समस्यामा परेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । अहिले कोरिडोरमा ११ केभीए प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा दैनिक ७/८ घण्टा कटौती भइरहेको छ । ३३ र ६६ केभीए प्रसारण लाइनमा १२ घण्टासम्म लाइन कटौती भइरहेको उद्योगीको गुनासो छ । यस्ता उद्योगमा ४/५ घण्टा ‘लाइटिङ लोड’ मात्र आपूर्ति दिने गरिएको उनीहरूको भनाइ छ ।
आपूर्ति दिइएको समयमा पनि ४/५ पटक विद्युत् काट्ने गरिएको र यसबाट उद्योगको कच्चापदार्थ खेर जाने, उपकरण, मोटर जल्नेजस्ता समस्या बढेको नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका उद्योग समिति अध्यक्ष दीपेश अग्रवालले बताए ।
भारत र बंगलादेश विद्युत् निकासीको कुरा गर्ने सरकारले आपूर्ति व्यवस्थापन मिलाउन नसकेर स्वदेशी उद्योगको उत्पादन नै अस्तव्यस्त हुनु लज्जास्पद भएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए । यही चैत ३ देखि भारतबाट आयात हुने विद्युत्को समय कटौती भएपछि नेपाल विद्युत् प्राधिकरणले आपूर्ति व्यवस्था मिलाउन उद्योगमा लाइन काट्नुपरेको प्राधिकरणका अधिकारीले बताएका छन् । त्यसअघि दैनिक २० घण्टा आयात हुनेमा अहिले १२ घण्टामात्रै भएपछि आपूर्तिमा समस्या भएको हो ।
अहिले बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै आयात भइरहेको प्राधिकरणले जनाएको छ । साँझ ६ बजेपछि उद्योगमा विद्युत् कटौती भइरहेको छ । अहिले आन्तरिक माग १९०० मेगावाट रहेकोमा ५ सय मेगावाट बिजुली आयातको भरमा आपूर्ति भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण, वीरगञ्जका प्रमुख अवधेश दुवेले भारतबाट आयात घटेकाले कोरिडोरका उद्योगमा कटौती गर्नुपरेको बताए । परवानीपुर– रक्सौल प्रसारण लाइनबाट आपूर्ति बढाउने पहल भइरहेको जानकारी पनि उनले दिए । भारतीय पक्षसँग यसबारे पहल भइरहेको छ । ‘अहिले १५० मेगावाट आइरहेकोमा १८० मेगावाट जति दिन आग्रह गरेका छौं,’ उनले भने ।