वैशाख ९, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर शाखाले विभिन्न कार्यालय तथा संस्थाबाट चालु आर्थिक वर्षमा रू. ४ करोडभन्दा बढी विद्युत महसुल उठाउन बाँकी रहेको जानकारी दिएको छ । छुट बिलिङतर्फ रू.४ करोड २४ लाख ६४ हजार २६६ रहेकाले स्वीकृतिका लागि केन्द्रमा पठाएको इन्जिनियर पंकजकुमार गोहितले जानकारी दिए ।
यस्तै प्राधिकरणले छुट बिलिङबापत् रू. ९३ लाख ८७ हजार ३०१ असुली गरेकोे छ । प्राधिकरणले २१ जना कालोसूचीमा रहेका ग्राहकहरुबाट रू.४ लाख ५० हजार १३७ उठाएको छ । सबैभन्दा बढी निक्की जुट मिलबाट रू.२० लाख उठाउन बांकी रहेको बताउँदै प्राधिरणले अविलम्ब बुझाउन पत्राचार गरेको छ ।
यस्तै कोशी अञ्चल अस्पतालले रू.५० लाख बुझाउनुपर्ने रहेकोमा रू.२० लाख बुझाएको र विराटनगर जुट मिलको रू.२० लाख रहेकोमा किस्ताबन्दी रुपमा तिर्दै गएको प्राधिकरणको भनाई छ । यसैगरी प्राधिकरण चालु आर्थिक वर्षको १० महिनामा विद्युत हुकिङ गर्ने ११७ जनालाई कारबाही गरेर रू.५ लाख ५७ हजार १२९ जरिवाना उठाउन सफल भएको छ ।
प्राधिकरणले हुकिङ गरी संचालन गरिएका ५४ ओटा उपकरण पनि जपथ गरेको छ । यस्तै मिटरबाट विद्युत चोरी गर्ने ११४ जनालाई कारबाही गर्दा रू.१ लाख ३३ हजार ७६७ रकम असुलउपर भएको छ ।