असोज ७, काठमाडौं । देशका ग्रामीण क्षेत्रहरु खाना पकाउने ऊर्जाका लागि दाउरा, कृषिजन्य वस्तु, गुइँठा आदि जैविक (जीवाष्म) मा निर्भर रहनुपर्दा स्वास्थ्य, वातावरण र राष्ट्रिय अर्थतन्त्रमै नोक्सानी भइरहेको सन्दर्भमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विद्युतीय चुलोको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) र क्लिन कुकिङ एलाइन्स (सीएए) को संयुक्त आयोजनामा भएको कार्यशालामा सहभागी वक्ताहरुले स्वच्छ भान्छाको अभियानलाई सार्थक तुल्याउन सरकार, समुदाय र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेका धारणा राखे ।
कार्यक्रममा पूर्वमन्त्री गणश साहले गरीबको पहिचान नै ऊर्जा खपतको अवस्थाबाट हुने हुँदा ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सार्थक तुल्याउन स्वच्छ भान्छाको लक्ष्य पूरा गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय सरकारहरुले आफ्ना पालिकाहरुलाई धुवाँमुक्त गराउँदै समग्र देशलाई नै धुवाँमुक्त गराउन सकिएमा मुलुकले समृद्धि हासिल गर्न सक्ने र आम जनता सुखी हुन सक्दछन् ।’
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आगामी ३ वर्षभित्र सम्पूर्ण जनतामा विद्युतको पहुँच पु¥याउने सरकारको लक्ष्य भएसँगै विद्युत्मा खाना पकाउने प्रबन्ध गर्नका लागि विद्युतको पहुँच, वितरण प्रणाली, वाइरिङ र महसुल तिर्न सक्ने क्षमताको विकास गर्न आवश्यक रहेको बताए ।
क्लिन कुकिङ एलाइन्स (सीएए)का क्षेत्रीय निर्देशक अजीत वासुले नेपालमा नमूनाका रुपमा सञ्चालन गरिएको स्वच्छ भान्छाको कार्यक्रम निकै प्रभावकारी भएकाले यसलाई देशभर विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । सीएएका नेपाल प्रबन्धक करुणा ब्रजाचार्यले काभ्रेपलाञ्चोक जिल्लाको मदनदेउपुर र पाँचखाल नगरपालिकाका ७१० घरधुरीमा बायोग्यास, इन्डक्शन चुलो र एलपी ग्यासको प्रवर्द्धन गरी दाउरामा खाना पकाउने बाध्यताबाट मुक्त गरिएको र यसबाट स्थानीय समुदायको स्वास्थ्य, वातावरण र जीवनस्तरमा सुधार आएको उल्लेख गरिन् ।
इसिमोडका निर्देशक वसन्त श्रेष्ठले खाना पकाउन प्रयोग हुने दाउराको अत्यधिक प्रयोगले घरभित्रको वायु प्रदूषणबाट स्वास्थ्य र वातावरणीय समस्या निम्त्याउने हुँदा त्यसका नियन्त्रणका लागि स्वच्छ ऊर्जाको खपतलाई बढाउनुपर्नेमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव गोकर्ण पन्थले अहिले पनि ९३ प्रतिशत ऊर्जा परम्परागत र खनिज इन्धनमा नै निर्भर रहनु परेका अवस्थामा विद्युत्को उत्पादन वृद्धिसँगै घरायसी चुलोको प्रयोग बढाउनेतर्फ सरकारले जोड दिएको उल्लेख गए ।
मदनदेउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइवा तामाङले आफ्नो नगारपालिकामा नमूनाका रुपमा सञ्चालित स्वच्छ ऊर्जा कार्यक्रम निकै प्रभावकारी रहेकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले एक घर एक विद्युतीय चुलोको अभियान सञ्चालन गरी विपन्न परिवारलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउन माग गरिन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत मुकेश घिमिरेले तराईका २२ जिल्लालाई लक्षित गरी तीन वर्षभित्र गुइँठाबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य गर्न केन्द्रले गुइँठा विस्थापन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । सो अवसरमा नेपाल इनर्जी फाउन्डेशनले विद्युतीय चुलोको मापदण्ड तथा अजम्बरी विकास फाउन्डेशन र जुनकिरी इन्टरयाक्टिभबाट दुई नगरपालिकामा व्यवहार परिवर्तन सञ्चार र आपूर्ति व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो । रासस