वीरगञ्ज। सीमावर्ती शहर वीरगञ्जमा दशैंको रौनक देखिएको छ । तर मानिसको चहलपहलअनुसार व्यापार भने भएको छैन । दशैं मेला लक्षित सडकमा बाक्लै पसल थापिए पनि ग्राहक नआउँदा व्यवसायी निराश छन् । सडकमा मात्र होइन, सटर/पसलका व्यवसायी पनि उत्साहित छैनन् ।
वीरगञ्जमा दशैंको अष्टमी तिथिमा मेला लाग्छ । स्थानीय घण्टाघरदेखि आदर्शनगरसम्म मेलालक्षित लत्ताकपडा, जुत्ता चप्पल, खेलौना, खाद्यान्न र पूजा सामग्री सडकमै राखेर विक्री भइरहेको छ । एक सातादेखि नै विक्रेताहरू सडक दायाँबायाँ चिह्न लगाएर आआफ्नो पसल थापेर बसेका छन् ।
सडकमा थापिएका पसलमा अघिल्ला वर्षको तुलनामा व्यापार निकै कम भएको गुनासो व्यापारीले गरेका छन् । गतवर्षको दशैंमा वीरगञ्जको माईस्थानमा दैनिक ५०–६० हजार रुपैयाँको जुत्ताचप्पल विक्री गरेका बारा भलुहीका रामप्रवेश साहले यसपटक दिनमा ५ हजार रुपैयाँको पनि व्यापार गर्न सकेका छैनन् । ‘बितेको दशैंमा करीब ४ लाख रुपैयाँको व्यापार भएको थियो । यो वर्ष घाटामा जाने डर भयो,’ उनले भने ।
बितेको वर्ष वीरगञ्जकै घण्टाघरमा पसल राखेर १ लाख रुपैयाँको चुलेसी र हसिया बेचेका शम्भु कुशवाहले यसपटक सोचेजस्तो व्यापार नभएपछि नवमीको दिन पर्साकै बिन्दवासिनीमा लाग्ने मेलामा समेत पुग्ने निधो गरेका छन् ।
बजारमा रौनक हराएको यो पहिलोपटक भने होइन । कोरोना महामारीयता वर्षैपिच्छे विक्री घट्दै गएको वीरगञ्ज माईस्थानमा घडी, विद्युतीय सामग्री र भाँडाको व्यापार गर्दै आएका दीपक सर्राफ बताउँछन् ।
बितेको वर्ष दशैं, तिहार र तराईमा भव्य रूपमा मनाइने छठ पर्वमा पनि व्यापार नभएपछि निराश भएका दीपक टाइम सेन्टरका सञ्चालक सर्राफलाई यो वर्ष व्यापार राम्रै होला भन्ने आशा थियो । तर, विक्री झन् खस्किएपछि उनी निराश छन् ।
‘सडकमा चहलपहल देखिए पनि पसलमा ग्राहक छिर्दैनन् । छिरिहाले पनि भाउ बुझेर किनमेलका लागि सीमापारिको भारतीय बजार रक्सौलतिर जान्छन्,’ उनले आफ्नो अनुभव सुनाए ।
चामल, दाल, तेल, चिनी, फलफूल, प्याज, आलुजस्ता दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, भाँडाकुँडा, घरायसी प्रयोजनका विद्युतीय सामग्री सबैजसो भारतीय बजारमा सस्तो पाइने भएपछि सीमावर्ती क्षेत्रमा उपभोक्ता भारतीय बजारमा आकर्षित भएका हुन् । ‘अहिले पारिको रक्सौलमा नेपाली ग्राहकको भीड छ । तर, वीरगञ्ज बजारका विक्रेता चाडपर्वमा पनि फुर्सदिला देखिएका छन्,’ सर्राफले भने ।
उपभोग्य तथा दैनिक आवश्यकताका अन्य वस्तु भारतीय बजारमा सस्तो पाइने भएपछि सीमाक्षेत्रबाट अवैध आयात समेत मौलाएको छ । सीमावर्ती बजारमात्र नभएर काठमाडौंसम्म नै यस्ता मालसामान सहजै पाइने दाबी व्यवसायीहरूले गरेका छन् ।
भारतबाट हुने कुल आयात रकमको करीब ५० प्रतिशतको मालसामान अवैध माध्यमबाट भित्रिने गरेको अनुमान सरकारी अधिकारीहरूकै छ । भारतले आम उपभोगका वस्तुमा न्यून कर लिने नीति लिएपछि भारतमा यस्ता वस्तुको मूल्य सस्तिएको छ । उता सस्तो पाइने सामानको अवैध आयात हुन्छ ।
‘भारतमा दैनिक उपभोगका वस्तुमा बढीमा ५ प्रतिशत वस्तु तथा सेवा कर छ । हामीकहाँ भने त्यस्तै प्रकृतिको मूल्यअभिवृद्धि कर आम जनताले खपत गर्नेदेखि विलासी वस्तुसम्ममा समान १३ प्रतिशत राखिएको छ । त्यसमाथि उच्च दरको भन्सार महशुल तोकिएको छ,’ व्यवसायी नवनीत अग्रवाल भन्छन्, ‘जुन वस्तुमा यता उच्च दरको राजस्व लिने गरिएको छ, ती वस्तु नेपाली ग्राहकले सीमापारिका बजारमा किनमेल गर्छन् ।’