काठमाडौं । विज्ञहरूले सरकारले विद्युत निर्यातभन्दा आन्तरिक खपतमा ध्यान दिनुपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २५ औं रजतजयन्तीको अवसरमा आयोजित ‘सेपिङ द फ्युचर : स्टार्टेजी एण्ड रोडम्याप फर इनर्जी सेक्टर’ शीर्षकमा भएको प्यानल डिस्कसनमा विज्ञहरूले आन्तरिक खपत बढाउँदा दीर्घकालमा नेपाललाई फाइदा हुने बताएका हुन् ।
पूर्वअर्थसचिव रामेश्वर खनालले सरकारको विद्युत नीतिको प्राथमिकता निर्यात हुनु नहुने बताए । उनका अनुसार प्रसारणलाइनमार्फत उत्तर र दक्षिण बजारसँग गाँसिनु राम्रो हो ।
‘नेपाल र भारतबीचको राजनीतिक सम्बन्धको कुरा गर्दा दिल्लीमा पानी पर्दा काठमाडौंमा मानिसहरू छाता ओढ्छन् भनिन्छ । काठमाडौंमा बाघ गर्जिँदा दिल्लीमा बन्दुक पड्किन्छ भनिन्छ,’ उनले भने, ‘ऊर्जामा आन्तरिक खपत बढाउनुपर्छ । यसले दीर्घकालमा नेपाललाई राम्रो गर्छ ।’ उनले नेपालको वातावरण अनुकूल भएकाले सूचना प्रविधिमा आधारित उद्योगमा प्राथमिकता दिनुपर्ने बताए ।
उनले हाइड्रोजन प्रविधिमा नेपालले लगानी गर्न आवश्यक रहेको बताए । ‘५१ प्रतिशत नेपालीले खाना पकाउन दाउरा प्रयोग गर्छन् । मुलुकभरीका सबै चुलो विद्युतीय बनाएर एलपी र दाउरा विस्थापन गर्न सकिछ,’ उनले भने, ‘मुलुकभरीको भान्छालाई विद्युतीय बनाउन सकिए नेपालको अर्थतन्त्रलाई ठूलो योगदान पुर्याउँछ । त्यसले दीर्घकालमा ठूलो फाइदा पुर्याउँछ ।’
उनका अनुसार नेपाली जलविद्युत्लाई विदेशी बजारको शेयर खोलिदिनुपर्छ । यसले लगानी ल्याउन सजिलो हुन्छ । अहिलेको कम्पनी ऐनमा यस्तो व्यवस्था छैन । सर्वसाधारणको लगानी डुबेर सहकारीजस्तै विष्फोटन हुनुअघि वित्तीय संरचना मिलाएर यसको नियमनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले ऊर्जामा निर्भर भएर अघि बढ्नुपर्ने बताए । उनले ९९ प्रतिशतमा बिजुलीको पहुँच दिँदा गुणस्तरीय बिजुली दिन नसकेको बताए । ‘२०४५ सम्म नेट जेरो इमिसन हासिल गर्ने प्रतिवद्धता जारी गरेको छ । ऊर्जा विकास मार्गचित्र यसलाई सम्बोधन गर्छ,’ उनले भने, ‘गुणस्तरीय बिजुली दिनुपर्ने विषय समेत मार्गचित्रमा उल्लेख छ ।’
अधिकारीका अनुसार अहिले प्रणालीमा ३४०० मेगावाट रहेको छ । जसमा ६६२ मेगावाट विद्युत प्राधिकरणको हो । बाँकी बिजुली निजी क्षेको उत्पादन हो । ऊर्जा विकास मार्गचित्र निजी क्षेत्रमैत्री रहेको उनले दाबी गरे । उनले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र पूरा गर्न ४६.५ बिलियन अमेरिकी डलर चाहिने र सरकारले यसमा चिन्ता गर्नु नपर्ने बताए । निजी क्षेत्र, आन्तरिक स्रोत, विदेशी ऋण र अनुदान, क्लाइमेन्ट फाइनान्सिङ, एनआरएन र रेमिट्यान्सबाट लगानी जुटाउन सकिने उनको भनाइ छ ।
यो मार्गचित्र कार्यान्वयनका लागि सबै राजनीतिक दलको साझा दस्तावेज बन्नुपर्ने, ऊर्जा क्षेत्रमैत्री सरकार र अदालत, निजी क्षेत्रमैत्री विद्युत ऐन चाहिने उनको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्रमा १३ हजार ५०० मेगावाट लोभ गरेर खपतको योजना राखेको बताए । उनले उक्त योजनाभन्दा धेरै खपत हुने बताए ।
उनले विदेशमा बिजुली विक्री गर्न थालेर व्यापार घाटा कम भएको बताए । उनले घर घरमा विद्युतीय चुलो पुर्याउने योजनामा काम भइरहेको बताए । ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि पुराना कानुनले जटिलता आउन सक्ने बताए । त्यसका लागि सचिवस्तरीय कमिटी बनाएर अध्ययन गरिरहेको बताए । उनले सञ्चारमाध्यहरूलाई नकारात्मक सन्देश नफैल्याउन आग्रह गरे ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले इनर्जी बण्ड, पूर्वाधार बण्डलगायत वैकल्पिक फाइनान्सिङ कार्यान्वयनका लागि ऐनको ड्राफ्ट भइरहेको बताए । उनले छिट्टै यो ऐन जारी हुने बताए ।
नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर बम बहादुर मिश्रले जलविद्युत विकास गर्नै पर्ने बताएका छन् । इप्पानले गरिरहेका कामलाई बढावा दिने गरी काम गर्नुपर्ने उनले बताए ।
ऊर्जा उद्यमी सुमन जोशीले ऊर्जा विकास मार्गचित्रले उत्साहित भएको बताइन् । उक्त मार्गचित्र कार्यान्वयनका लागि अहिलेको स्पीडमा काम गरेर नहुने उनले बताए । १५ महिनादेखि ४ वर्षमा परियोजनाहरू बन्ने भए पनि ८ वर्षसम्म कागजी काममा खर्चनुपर्ने बाध्यता रहेको उनको गुनासो छ । उनले ७÷८ वर्ष कागजमा काम गर्न समय लागे लक्ष्य पूरा गर्न नसकिने बताए ।
विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले ऊर्जा विकासको मार्गचित्रमा कुनै शंका नगर्न आग्रह गरे । ४४ हजार मेगावाटको आयोजना चलायमान अवस्था रहेकाले मार्गचित्र पूरा हुने बताए ।
उनले मार्केटमा चिन्ता गर्नु नपर्ने बताए । भारतमा १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने दीर्घकालीन सम्झौता भएको छ । बंगलादेशमा निर्यात सुरु गरेकाले बजारको कुनै समस्या नरहेको उनको भनाइ छ ।
विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नदी प्रवाही आयोजनामा केन्द्रित भएको बताए । उनले जलाशय प्रकृतिका आयोजनामा पनि बनाउनुपर्ने बताए ।