काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा उपलब्ध अल अर नन् (एओएन) फिचर आइतवार (असार १९ गते) देखि पूर्ण रूपमा हटेको छ । दुवैतर्फ एओएन फिचर रहेकोमा खरीदतर्फ यसअघि नै हटाइएको थियो । विक्रीतर्फ प्रयोगमा ल्याइएको एओएन फिचर हटाउँदा शेयर टुक्रिएर विक्री हुने झन्झट थपिएको छ ।
यसअघि विक्रीतर्फ एओएन फिचर हुँदा आफूसँग भएको शेयर बेच्न चाहँदा कि सबै विक्री हुने, माग नभए विक्री नहुने सहजता थियो । यो फिचर हटाएसँगै अब शेयर टुक्रिएर विक्री हुने झन्झट थपिएको छ । टुक्रिएको कम कित्ता शेयर विक्री गर्न सहज नहुने भएकाले यो व्यवस्था हट्दा शेयर कारोबारीलाई नै समस्या हुने देखिन्छ । यसरी शेयर टुक्रिएर पटकपटक कारोबार हुँदा शेयर विक्रेताले तिर्नुपर्ने ब्रोकरलगायत अन्य कमिशनबापतको रकम पनि बढ्नेछ । बेच्न राखिएको शेयर सबै एकैपटक विक्री भयो भने ब्रोकर कमिशन र अन्य कमिशनबापतको रकम केही हदसम्म कम हुन्छ । तर, एओएन फिचर हटेपछि अब एक कम्पनीको शेयर टुक्रिएर विक्री हुँदा ब्रोकर कमिशन बढ्न पुग्छ । शेयर लगानीकर्ताले शेयर खरीदविक्री गरेबापत ब्रोकरलाई तिर्नुपर्ने कमिशन एकै प्रकृतिका छैनन् ।
यसतर्फ भने नियामक निकायको ध्यान नगएको लगानीकर्ताको भनाइ छ । यो फिचर हट्दा शेयर टुक्रिएर कारोबार भए त्यस्तो टुक्रिएको शेयर बेच्न सहज हुने व्यवस्था गर्नुपर्ने लगानीकर्ता केशव कोइराला बताउँछन् ।
यो फिचर हट्दा समग्रमा राम्रो भए पनि सानातिना समस्या बोर्डले समाधान गर्नुपर्ने उनको भनाइ छ । ‘एओएन फिचर हुँदा बजार बढाउन वा घटाउन चलखेल भएकाले यो हट्दा बजारलाई फाइदा नै हुन्छ । तर, यो नहुँदा शेयर टुक्रिने समस्या आउन सक्छ । अब अड लट कारोबारलाई धितोपत्र बोर्डले सहज बनाउनु पर्छ,’ कोइरालाले भने । एओएन फिचर हुँदा पनि समस्या हुने र नहुँदा पनि समस्या आउने हुँदा यसको विकल्प खोज्नुपर्ने देखिएको छ । एओएन फिचर हुँदा कतिपय स्वार्थ समूहले बढी विक्री अर्डर र बढी खरीद अर्डर राखेर कम्पनीको शेयरमूल्यमै प्रभाव पार्ने गरेका थिए । यो फिचर हटेपछि यस्तो समस्या हल हुने नेप्सेका प्रवक्ता तथा सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । शेयर टुक्रिने समस्या आए पनि त्यसलाई सहज रूपमा कारोबार हुने व्यवस्था गरिने उनको भनाइ छ । ‘एओएन फिचरको दुरुपयोग भएको पाइएकाले नै हटाएका हौं । तर, शेयर टुक्रिने समस्या आउने कुरा पनि आएका छन् । यस्ता कुरालाई छलफल गरेर समाधान गर्नेछौं । हुन त टुक्रिएका शेयर पनि अड लटमा विक्री गर्न पाउने व्यवस्था छ,’ पराजुलीले भने ।
नेप्सेले यो फिचर हटाएसँगै १० कित्ताभन्दा कम अड लट नहुने गरी शेयर खरीदविक्री गर्ने व्यवस्था गर्नुपर्ने देखिएको छ । कसैले १०० कित्ता शेयर बेच्न राख्यो भने ९५ कित्ता विक्री नहुने प्रावधान राख्नुपर्ने देखिएको छ । यसो गर्न सके थोरै थोरै अड लट कारोबार गर्नुपर्ने झन्झट नहुने लगानीकर्ता बताउँछन् ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट भने यो फिचर हुँदा र नहुँदा केही फरक नपर्ने दाबी गर्छन् । यसअघि १० कित्ताभन्दा कम विक्री गर्न झन्झट भएको भन्दै २/४ कित्ताले मूल्यमा कुनै असर नपार्ने भएकाले त्यो शेयर सिस्टमले आफै तान्ने बनाउनुपर्ने उनको माग छ । ‘शेयर टुक्रिएर २/४ कित्ता बाँकी रहेको खण्डमा त्यो कसैले बेच्न राख्दा स्वतः सिस्टमले तान्ने व्यवस्था गर्नुपर्छ । एओएन हट्दा बजारमा कुनै ठूलो असर पर्दैन,’ उनले भने । नेप्सेको सल्लाहअनुसार नै अड लट कारोबार सहज रूपमा हुने व्यवस्था मिलाइएको धितोपत्र बोर्डका सहायक कार्यकारी निर्देशक तथा सहप्रवक्ता रूपेश केसीले बताए । अड लट कारोबारले शेयरको मूल्यमा कुनै प्रभाव नपार्ने भएकाले नेप्सेसँग कुरा गरेरै एओएन फिचर हटाइएको उनले बताए । कसैले टुक्रिएको शेयर अड लटमा विक्री गर्न राख्दा मूल्य म्याच भए सिस्टमले आफै उक्त शेयर तान्ने उनले जानकारी दिए । एओएन फिचर हटाउँदा अड लट कारोबार नहुने हो कि भन्ने कुरामा तनाव नलिन लगानीकर्तालाई उनले आग्रह गरे ।