पर्यटन मनोरञ्जनको व्यवसाय हो । त्यसैले सुरक्षा बलियो भएको अवस्थामा मात्रै पर्यटनले गति लिन्छ । असुरक्षाको भावना छ र डरत्रास छ भने त्यस्तो ठाउँमा जाने पर्यटकको संख्या ह्वात्तै कमी आउँछ । यद्यपि त्रासकै अनुभूतिका लागि पनि अलग पर्यटन प्याकेज नभएको होइन तर आम पर्यटकका लागि भने सुरक्षा पहिलो प्राथमिकतामा पर्छ । नेपाल विश्वमै प्राकृतिक जोखिमको उच्च स्थानमा रहेको छ । यहाँ वर्षेनिजस्तै बाढीपहिरोको समस्या आउने गरेको छ । हिमताल विस्फोटको डर पनि उत्तिकै छ । यस्तोमा प्रकृतिका सानो विनाशलीला आउनेबित्तिकै पर्यटक धमाधम बुकिङ रद्द गर्न थाल्छन् । त्यसमा पनि अहिले सामाजिक सञ्जालले सानो घटनालाई पनि अतिरञ्जित किसिमले प्रचार गर्ने र युट्युबहरूले भ्युज बढाउने नियतले गैरजिम्मेवारी तरीकाले समाचार प्रसारण गर्दा पर्यटनका छविमा निकै नकारात्मक असर पुगेको छ ।
हालै गएको बाढीले नेपालमा ठूलै क्षति पुर्यो । त्यो क्षति करीब १५ अर्ब भएको सरकारको प्रारम्भिक अनुमान छ । यो १७ अर्बसम्म पुग्न सक्छ भन्ने पनि अनुमान छ । तर, यसमा पर्यटन पूर्वाधारको क्षति समावेश भए पनि यस क्षेत्रले गुमाएको आमदानीको हिसाब छैन । बाढीपहिरोबाट सडक यातायात केही दिन त अस्तव्यस्त नै भयो । अहिले बीपी राजमार्गबाहेक अरू राजमार्ग बिस्तारै अस्थायी किसिमले सञ्चालन हुन थालेका छन् । तर, कच्ची बाटो भएकाले र जामले गर्दा गन्तव्यमा पुग्न नियमित समयमा भन्दा दोब्बरभन्दा बढी समय लाग्न थालेको छ । यी बाटोमा भएको क्षति र बाढीको विनाशलीला सोसल मिडियामा भाइरल भएपछि पर्यटक पनि आत्तिन थालेका छन् । केहीले सोधपुछ गरेर आउने मनिस्थितिमा रहेको पाइन्छ भने झन्डै २० प्रतिशतले होटेल बुक रद्द नै गरेका छन् । त्यसको अर्थ उनीहरू नेपाल आउन नचाहनु हो । यस्तो क्षतिलाई सरकार र सरोकारवाला सबैले चासो दिएका छैनन् । यद्यपि पर्यटनको आम्दानी गुम्नु भनेको सरकारको बजेटका लागि ठूलो समस्या हो ।
विभिन्न देशले ट्राभल एडभाजरी जारी गरी नेपालमा भ्रमणमा सावधानी अपनाउन आग्रह गर्दा सरकारले आफ्नो अवस्था स्पष्ट पार्नुपर्थ्यो। त्यसतर्फ अझै पनि सरकारी अधिकारीहरूको ध्यान गएको छैन ।
जोखिम पहिचान, पूर्वाधार विकासको शैली, बस्ती विकासको ढाँचा र प्रविधि साथै विपद् पूर्वसम्बन्धी गरिने अध्ययन र अनुसन्धानको कमीलगायत विषय पनि पछिल्लो समय क्षतिको प्रमुख कारणको रूपमा देखिन्छ । सामान्यतया यो वर्ष मनसुन शुरू भएयता छोटो समयमा पनि औसतभन्दा बढी वर्षा भइरहेको पनि जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि देखाउँछ । हाम्रो जस्तो कमजोर भौगर्भिक बनोट भएको मुलुकमा निरन्तर वर्षा बाढी र पहिरोको कारण बन्छ । तर, मानवीय क्रियाकलापले पनि बाढीपहिरोको समस्या चर्कोएको पाइन्छ । विकासका नाममा सम्भावित विपद्को पहिचान नगरी हचुवाको भरमा सडक विस्तार गर्नुलगायत कारणले पहिरोले क्षति पुर्याएको पाइन्छ । यस्तो क्षतिमध्ये सडक पूर्वाधारमा पुगेको क्षतिबाट पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।
काठमाडौंबाट प्राय: सबैजसो पर्यटकीय गन्तव्यमा सडकबाट नै पुग्नुपर्ने अवस्था छ । यद्यपि कतिपय ठाउँमा हवाई साधनको विकल्प नभएको होइन । सडकबाट जाँदा ज्यानको जोखिम एकातिर छ भने अर्कोतिर नियमित समयभन्दा दोब्बर बढी लाग्ने समय लाग्ने गरेको छ । जाममा फस्नुपर्ने बाध्यता अर्को छँदै छ । यसपालिकाको बाढीपहिरोले पर्यटकीय गन्तव्यमा त्यति क्षति पुर्याएको छैन । खासगरी पदयात्रा मार्गमा त्यति धरै असर पुर्याएको छैन ।
विगतमा १ दशकको तथ्यांक हेर्ने हो भने प्राकृतिक विपत्बाट वर्षेनि अर्बौंको क्षति पुग्ने गरेको छ । तथ्यांकअनुसार नेपालमा प्राकृतिक तथा मानवजन्य विपत्तिको फलस्वरूप हुने आर्थिक क्षतिका कारण देशको वार्षिक कुल गार्हस्थ्य उत्पादनमा साढे ४ प्रतिशत सम्मको नोक्सानी हुने गरेको अनुमान छ । जनसंख्याको अनुपातमा नेपालमा विपदबाट हुने मानवीय क्षति विश्वमै उल्लेखनीय छ । दक्षिणएशियाका मुलुकमध्येमा त सबैभन्दा बढी रहेको तथ्यांकले देखाउँछ । यस्तो क्षति वर्षेनि बढ्ने क्रममा छ । यसरी प्रकोपजन्य घटनाका कारण हुने आर्थिक र मानवीय क्षति आफैमा आर्थिक तथा मानव विकासमा ठूलो चुनौती हो । सीमित स्रोतसाधनबाट धेरै विकासका काम गर्नुपर्ने नेपाल जस्तो मुलुकका लागि विपद्बाट हुने क्षति न्यूनीकरणमा ध्यान दिनु अत्यावश्यक हुन्छ । अन्यथा विपद् विकास प्रक्रियामै ठूलो बाधकको रूपमा खडा हुनसक्छ र मानिसको आय तथा जीवनस्तर सुधार बाटोको तगारो बन्ने निश्चित छ । यसको एउटा उदाहरण पर्यटनलाई लिन सकिन्छ ।
पर्यटन क्षेत्रले तल्लो स्तरमा आय वृद्धिका लागि अवसर सृजना गरेको छ, मुलुकको अर्थतन्त्रमा झन्डै ४/५ प्रतिशत योगदान दिएको छ । प्राकृतिक विपद्बाट प्रत्यक्ष असर पर्ने भनेको पर्यटन क्षेत्र हो । तर, पर्यटन क्षेत्रमा परेको यस्तो असरबारे सरकारको त्यति चासो देखिएको छैन । माओवादी द्वन्द्वका कारण विस्तार हुन लागेको पर्यटन क्षेत्रमा असर पुग्यो । बिस्तारै तङ्ग्रने तर्खर गर्दागर्दै भूकम्पको विनाशलीलाले फेरि यसलाई थचक्कै बसाल्यो । त्यसपछि बिस्तारै उड्न थालेको पर्यटनलाई कोरोनाको महामारीले त उठ्नै नसक्ने अवस्थामा पुर्यायो । सरकारले दिएको राहत आदिले अन्य क्षेत्रलाई पुनरुत्थान गर्न केही सहयोग गर्यो तर पर्यटन क्षेत्रले अपेक्षित मात्रामा त्यस्तो राहत पाएन । अन्य क्षेत्रभन्दा यो ढिला उठ्न थालेको हो । अहिले बिस्तारै पर्यटन आगमनमा सन् २०१९ को अवस्थालाई भेटेको र यो वर्ष राम्रो हुने अपेक्षा गरिरहँदा बाढीपहिरोले फेरि समस्या बढाएको छ ।
माओवादी द्वन्द्वका कारण विस्तार हुन लागेको पर्यटन क्षेत्रमा असर पुग्यो । बिस्तारै तङ्ग्रने तर्खर गर्दागर्दै भूकम्पको विनाशलीलाले फेरि यसलाई थचक्कै बसाल्यो । त्यसपछि बिस्तारै उठ्न थालेको पर्यटनलाई कोरोनाको महामारीले त उठ्नै नसक्ने अवस्थामा पुर्यायो । अहिले फेरि बाढीपहिरोबाट समस्या पर्ने देखिएको छ ।
अक्टोबरबाट यस वर्षको पर्यटन याम शुरू हुन लागेको छ । तर, यसको शुरूमै धमाधम बुकिङ रद्द भएका समाचार आइरहेका छन् । अहिलेसम्म २० देखि २५ प्रतिशतसम्म बुकिङ रद्द भएको अनुमान छ । यद्यपि पर्यटकले केही वर्षदेखि घुम्ने योजना बनाएकाले उनीहरू अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । यस्तो बेला नेपालले गर्ने प्रचार नीति निकै महत्त्वपूर्ण हुन्छ । सडक सुचारु हुन थालेको छ । अन्य पर्यटकीय पूर्वाधारमा खासै क्षति पुगेको छैन । त्यसो हुँदा पर्यटकहरू आत्तिएर भ्रमण रद्द नै गर्नुपर्ने अवस्था भने छैन । सरकारले बाढीपहिरोबाट पर्यटकीय क्षेत्रमा असर नपुगेको र सडकमा केही सामान्य अवरोधबाहेक अहिले स्थिति सामान्य भइसकेको कुरा पर्यटन बजारमा पुर्याउन आवश्यक छ । पत्रपत्रिका र समाचारहरूमा बाढीले निम्त्याएका विनाश, त्यसबाट परेको असरलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । सामाजिक सञ्जाल र युट्युबहरूमा पनि त्यस्ता दृश्य देखाउन प्रतिस्पर्धा छ । सरकारले काम गर्न नसकेकामा चर्कै आलोचना भएको छ । ती माध्यमका लागि यस्ता समाचार दिन पाउनु र पाठक र दर्शक बढाउनु पाउनु राम्रै हो तर त्यसले देशको भयावह अवस्थालाई देखाउँछ । यी समाचारले मुलुकको सम्पूर्ण अवस्थालाई चित्रण गर्दैन । तर, पर्यटकमाझ भने निकै ठूलो नकारात्मक सन्देश प्रवाह गरेको छ । पर्यटक आफू जाने मुलुकको घटनाहरूलाई राम्ररी हेरिरहेका हुन्छन् । जाने ठाउँका बारेमा पर्याप्त जानकारी लिइरहेका हुन्छन् । पहिला जस्तो होइन । त्यसो हुँदा सरकारले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश विभिन्न माध्यमबाट दिन जरुरी छ । यो काम नेपाल पर्यटन बोर्डको हो तर उसले यसमा ध्यान दिएको छैन । विभिन्न देशले ट्राभल एडभाजरी जारी गरी नेपालमा भ्रमणमा सावधानी अपनाउन आग्रह गर्दा सरकारले आफ्नो अवस्था स्पष्ट पार्नुपर्थ्यो। त्यसतर्फ अझै पनि सरकारी अधिकारीहरूको ध्यान गएको छैन ।
पर्यटनमन्त्रीबाट यस्तो समयमा विशेष पहलको अपेक्षा हुनु अस्वाभाविक होइन । तर, मन्त्री आफै अन्योलमा रहेको देखिन्छ । वायुसेवा चुस्त पार्न र त्यसमा रहेका अनावश्यक विवाद मिलाउनुपर्ने हो । अहिले लुक्लाका लागि विमान मन्थली विमानस्थलबाट उडाउनुपर्ने नियम बनाइएको छ । काठमाडौंको विमानस्थल अति व्यस्त भएकाले यहाँको ट्राफिक कम गर्न यसो गरिएको हो । तर, अहिले मन्थली पुग्न नै कठिन छ । वैकल्पिक बाटो हतारहतार तयार पारिएको छ । तर, मन्थलीको विकल्पमा जनकपुर विमानस्थल प्रयोग गर्न क्यानले तयारी गरेको थियो जुन अहिले स्थगित छ । काठमाडौंबाटै उडान गर्न पहल गर्नुपर्नेमा जनकपुर लैजानु भनेको समस्या झन् थप्नु हो । त्यसैले चाडपर्वको बेला सर्वसाधारणलाई सजिलोसँग हवाई सेवा उपलब्ध गराउन सरकारले पहल गरेको छ तर त्यसको मारमा पर्यटकलाई पार्नु हुँदैन । त्यसैले हिमालय दृश्यावलोकनका लागि हुने उडान होस् वा लुक्लालगायत क्षेत्रमा हुने उडानलाई सकेसम्म प्राथमिकतामा राखिनुपर्छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।