काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी समितिले विपद् प्रतिकार्यका लागि प्रयोग गर्ने गरी नेपाललाई उक्त रकम ऋण सहयोग गर्ने निर्णय गरेको हो ।
‘हालै आएको बाढीका कारण नेपालले प्राकृतिक र जलवायु(प्रेरित खतरा र स्वास्थ्य आपतकालिन बहुसंकटको सामना गरिरहेको छ, जसले देशलाई गम्भीर आर्थिक झट्काको बढ्दो जोखिममा पारेको छ,’ माल्दिभ्स, श्रीलंका र नेपालका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनको भनाइ उद्दृत गर्दै विश्व बैंकले जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आपतकाल आउनेबित्तिकै लिन सक्नेछ ।’
बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामाना गर्न विश्व बैंकले यस्तो ऋण दिने गर्छ । विश्व बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।