मधुसूदन पौडेल
एकाइसौं शताब्दी ज्ञानमा आधारित अर्थतन्त्रको युग हो । बौद्धिक सम्पत्ति विश्वमा आर्थिक र सामाजिक विकासको कायापलट गर्नमा योगदान पुर्याउने नवीन ज्ञानको भण्डार हो । बौद्धिक सम्पत्ति ज्ञानको नवीनतम स्वरूप भएकाले र यसको सृजना गर्दा स्रष्टा वा आविष्कारक वा सर्जकले प्रशस्त मेहनत तथा स्रोतसाधन र समय खर्चनुपर्ने हुँदा उनीहरूको आफ्नो कृति वा रचना वा आविष्कार राज्यद्वारा प्रदत्त एकलौटी अधिकारबाट संरक्षित र सम्पोषित हुन्छ । यसरी प्रदान गरिने एक्लौटी अधिकारलाई बौद्धिक सम्पत्ति भनिन्छ । पाश्चात्य मुलुकहरूको राष्ट्रिय उत्पादन वृद्धि र आर्थिक सामाजिक समुन्नति अग्र स्थानमा पुग्नुको रहस्य पनि यसैभित्र लुकेको हुन्छ । बौद्धिक सम्पत्तिभित्र प्राविधिक विकासमा योगदान पुर्याउने पेटेण्ट आविष्कार, सृजनशील साहित्यक, लयात्मक तथा साङ्गीतिक रचनामाथिको प्रतिलिपि अधिकार, औद्योगिक तथा व्यापारिक वस्तुको आकर्षणमा योगदान पु¥याउने औद्योगिक डिजाइन, उत्पादन गर्ने प्रतिष्ठानको पहिचान र उत्पादित वस्तुको पहिचान दिई व्यापार वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने ट्रेडमार्कलगायत विभिन्न चिह्नहरूको अधिकारलगायत मानवीय चिन्तनबाट प्रस्फुटित विचार र अभिव्यक्तिहरू बौद्धिक सम्पत्ति हुन् । बौद्धिक सम्पत्तिको इतिहास पुराण जतिकै पुरानो छ । तर, दशौं शताब्दीपछिका बौद्धिक सम्पत्तिहरूको मात्र प्रत्यक्ष प्रमाणहरू भेटिन्छन् । त्यसमा पनि व्यवस्थित ढङ्गले कानूनी संरक्षण गर्ने व्यवस्था भने सत्रौं शताब्दीदेखि मात्र प्रचलनमा आएको पाइन्छ ।
यस वर्षको बौद्धिक सम्पत्तिको नारा नवप्रवर्तन—जीवन सुधार रहेको छ । नवप्रवर्तन बौद्धिक सम्पत्ति सृजनाको महत्त्वपूर्ण आयाम हो । यसले मानव जीवनलाई बढी स्वस्थ, सुरक्षित र सुविधासम्पन्न बनाउँछ । मान्छेले भोगेका कुनै पनि समस्यालाई समाधानमा रूपान्तरित गरिदिने प्रक्रिया नै नवप्रवर्तन हो । कुनै समस्याको प्राविधिक समाधान पत्ता लगाउनु आविष्कार हो भने आविष्कारलाई मानव जीवनोपयोगी हुने गरी व्यवहारमा उतार्नु नवप्रवर्तन हो । नवप्रवर्तन केवल आविष्कारमा मात्र होइन, जुनसुकै बौद्धिक सम्पत्तिलाई व्यवहारमा उतारी मानव जीवनमा सुधार ल्याउने प्रक्रिया हो । कुनै व्यवसायीले आकर्षक डिजाइनमा वस्तु उत्पादन गर्नु, समूह चिह्न प्रयोग गरी कुनै समुदायले उत्पादन गरेको वा भएको बजार प्रवर्द्धन गर्नु, नयाँ पेटेण्ट गरेको फर्मुला खोजतलास गरी औषधि उत्पादन गर्नु, मीठो स्वाद र धेरै उत्पादन हुने सुन्तलाको जातको विकास र विक्रीवितरण गर्नु यी सबै नवप्रवर्तनका उदाहरण हुन् । यसका प्रमुख उपलब्धिमा उत्पादन विधिमा सुधार, आफ्नै प्रविधिमा आत्मनिर्भरता, उपभोक्ताका चाहना र खाँचोअनुसार नयाँ वस्तुको उत्पादन पर्छन् । त्यस्तै बजारमा वस्तुको प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि र बजार विस्तार, समाजमा नवीनतम ज्ञान र शीपको सञ्चार, सृजनात्मक क्रियाकलाप वृद्धि, लगानी वृद्धि, आर्थिक समुन्नति आदि पनि यसका उपलब्धि नै हुन् । उदाहरणका लागि रामलक्ष्मण रिमाल दुई जुम्ल्याहा भाइ मिलेर प्रविधिको विकासका लागि टेक्नोलोजी सेण्टर नामक कार्यशाला सञ्चालन गरेका छन् १ नयाँनयाँ उपकरणहरूको आविष्कार गरेको छन् र करीब एक दर्जन पेटेण्ट उद्योग विभागबाट स्वीकृत गराइसकेका छन् । उनीहरूले पेटेण्ट गरेका सामुदायिक सुरक्षा उपकरण (सयरिन सिष्टम), मेशिनको आफ्नै कार्यशालामा सफल उत्पादन र व्यापारीकरण भइसकेको छ । त्यस्तै पोखरामा झलक थापाको हिमालय वाइनरी कम्पनी (डाँडा घरे वाइनरी)ले नेपाली फलफूल र जडीबुटीमा आधारित वाइनलाई आँगन, मझेरी, आँटी, पिँढीजस्ता ठेट नेपाली शब्दहरूको ट्रेडमार्कबाट ब्राण्डिङ गरी पोखराकै पर्यटकीय प्रवद्र्धनमा सहयोग त पुर्याएको छ नै, यसबाहेक जापानमा समेत निर्माण गरिरहेको छ । म्याग्दीका महावीर पुन ग्रामीण इलाकामा साना व्यावसाय प्रवर्द्धमा आईटीको सफल प्रयोगले चर्चित भएका छन् । यस्ता दर्जनौं सफल प्रतिभाहरू छन्, सबैको नाम यहाँ उल्लेख गर्न सम्भव छैन । मुलुकमा बौद्धिक सम्पत्तिको प्रवर्द्धनसम्बन्धी कुनै पनि सुविधा नभएका बेला आफ्नै विवेक र मेहनतबाट आफ्नो प्रतिभा उजागर गरेर तथा नवप्रवर्तनका उदाहरणीय काम गरेर समाजलाई ठूलो गुन लगाएका छन् ।
हाल आएर बौद्धिक सम्पत्तिका अन्य धेरै विषय विकसित हुनपुगेका छन् । जस्तो गोपनीयताको अधिकार, भौगोलिक सङ्केतमाथिको अधिकार, अस्वस्थ प्रतिस्पर्धा निवारण, प्रविधि हस्तान्तरण, एकीकृत सर्किट संरचनामाथिको अधिकार, परम्परागत तथा जैविक साधनमाथिको अधिकार, बोटबिरुवाका नयाँ जातहरूमाथिको अधिकार, परम्परागत सांस्कृतिक निधिमाथिको अधिकार, जनजिब्रो तथा भाषाको अधिकारजस्ता विषयहरू पनि बौद्धिक सम्पत्तिअन्तर्गत समावेश गरिएका छन् । यस्ता सबै किसिमका बौद्धिक सम्पत्तिहरूमा नवप्रवर्तन क्रियाकलापहरू सञ्चालन गर्न सकिन्छ ।
नेपालमा बौद्धिक सम्पत्तिलाई राज्यद्वारा कानूनी संरक्षण गर्ने कामको प्रारम्भ विसं १९९३ सालदेखि शुरू भएको हो । पेटेण्ट, डिजाइन र ट्रेडमार्क कानून, १९९३ ले तीन प्रकारका बौद्धिक सम्पत्ति संरक्षण गर्ने व्यवस्था गर्यो । २०२२ मा बौद्धिक सम्पत्तिको संरक्षणको अन्तरराष्ट्रिय क्षेत्रसमेत समेटिने गरी पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ ल्याइयो भने त्यसै वर्ष प्रतिलिपिअधिकार संरक्षण ऐन, २०२२ पनि प्रथमपटक जारी भयो । पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन तीनपटक संशोधनसहित हालसम्म पनि क्रियाशील रहेको छ । यसमा अझै बौद्धिक सम्पत्तिका छूट भएका विधाहरू समावेश गर्नुपर्ने र अन्तरराष्ट्रिय जगत्मा स्थापित मापदण्ड र मान्यताअनुसारको बौद्धिक सम्पत्ति कानून निर्माण गर्नुपर्ने टड्कारो रूपमा खाँचो भएको देखिन्छ । नेपाल सरकारले प्रथमपटक बौद्धिक सम्पत्ति नीति, २०७३ हालै जारी गरिसकेको छ । प्रतिलिपि अधिकारका लागि भने झण्डै विश्वव्यापार सङ्गठनको मापदण्ड धेरै हदसम्म पूरा गरेको कानून २०६९ सालमा र नियमावली २०६२ सालमा तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको भए तापनि त्यसमा अझै धेरै सुधार हुनुपर्ने पक्षहरू देखिएका छन् । मुलुकमा बौद्धिक सम्पत्ति पद्धतिको विकासको क्रममा अन्तरराष्ट्रिय सम्बन्धहरू पनि स्थापित भएका छन् । नेपालले विसं १९९७मा विश्व बौद्धिक सम्पत्तिको सङ्गठनको, विसं २००१ मा पेरिस महासन्धिको, २००४ मा विश्वव्यापार सङ्गठनको र २००६ मा वर्न महासन्धिको सदस्यता ग्रहण गरेबाट अब मुलुकले यस क्षेत्रमा राष्ट्रिय मात्र होइन, अन्तरराष्ट्रिय दायित्वसमेत वृद्धि भएको छ । साथै आर्थिक प्राविधिक सहयोग एवम् उद्योग र व्यापार वृद्धिका प्रशस्त अवसर पनि सृजना भएका छन् । जस्तो विश्व बौद्धिक सम्पत्ति सङ्गठन र विश्व व्यापार सङ्गठनबाट यस क्षेत्रको विकासका लागि सहयोग प्राप्त भइरहेको छ भने दुई पक्षका आधारमा खास गरी अमेरिका, जापान र अष्ट्रेलियाबाट पनि उल्लेखनीय सहयोग प्राप्त भइरहेको छ । मुलुकमा राजनीतिक व्यवधान र विसङ्गतिका कारणले पनि अन्तरराष्ट्रिय सहयोगको समुचित उपयोग गरी मुलुकमा स्तरीय बौद्धिक सम्पत्ति पद्धतिको निर्माण गर्न नसकिएको कुरा स्वीकार गर्नैपर्ने हुन्छ । अबको हाम्रो प्रयास भनेको बौद्धिक सम्पत्तिका लागि राष्ट्रिय कानूनको निर्माण गर्ने, राष्ट्रिय बौद्धिक सम्पत्ति कार्यालय खडा गर्ने, बौद्धिक सम्पत्ति सूचना केन्द्रहरू स्थापित गर्ने, जनशक्ति विकास तथा जनचेतना अभिवृद्धि गर्ने, बौद्धिक सम्पत्ति सृजनाका लागि प्रोत्साहन कार्यक्रम गर्ने, निजीक्षेत्र तथा सामाजिक अनुसन्धानमूलक र शैक्षिक संस्थालाई पनि बौद्धिक सम्पत्तिको सृजनातर्फ उत्प्रेरणा जगाउने खालका कार्यक्रमहरू सञ्चाल गर्दै जानुपर्ने देखिन्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।