काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव)भन्दा गत आवमा ७ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो आवमा ६ करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा भने ७ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
गत आवमा कम्पनीको वित्तीय खर्च घटेकाले नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ । अघिल्लो आवमा १ करोड २९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले गत आवमा भने ९१ लाख ८७ हजार रुपैयाँ मात्र वित्तीय खर्च गरेको हो ।
गत आवमा कम्पनीले विद्युत विक्रीबाट १३ करोड ६२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा शून्य दशमलव ९२ प्रतिशत मात्र बढी हो ।
हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३३ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको जगेडा कोष रकम भने १८ करोड २४ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३६ रुपैयाँ ९८ पैसा छ ।