काठमाडौं । ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छूटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या पातलो छ ।
दशैं र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक राम्रो व्यापार नभएको उनको अनुभव छ । उनी भन्छन्, ‘दुई÷चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ ।’
पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ । यद्यपि फूलपाती शुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ ।
दशैंमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्त्वपूर्ण लाग्छ । चिसो मौसम शुरु भएकाले दशैंमा छूटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन् उनी । ‘आफ्नो भन्दा छोराछोरीलाई दशैंमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन् ।
ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यसपाली मुल घर सर्लाही नजाने बताए । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनको भनाइ छ ।
‘काठमाडौंमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दशैं मनाउने सोचमा छौं,’ उनले भने, ‘किनमेल पनि भर्खरै शुरु हुँदैछ ।’ उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरीद गर्ने गरेको बताए । पर्वमा भारी छूट पाउने हुँदा आवश्यक सामग्री किनेको उनको भनाइ छ ।
काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दशैंमा किनमेलमा खासै जोड नदिएको बताइन् । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरीद गर्न आएकी उनले सामान्य खर्चमा दशैं टार्ने योजना रहेको सुनाइन् । गाउँ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालीको दशैं मनाउने जाँगर चलेको छैन । दशैं पनि काठमाडौंमै मनाउने योजना रहेको उनले बताइन् । ‘आफन्ती सबै दुःखमा छन्, दशैं मनाउनु कसरी ?’ उनले भनिन् ।
भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै असर बजारमा फेरि देखापरेको उनको अनुभव छ । ‘मान्छेहरूको चहलपहल त छ, तर व्यापार सोचेजस्तो छैन,’ उनले भने । रासस