व्यावसायिक टिम्मुर खेतीको सम्भाव्यता अध्ययन
वैशाख २८, बेनी (अस) । म्याग्दीमा टिमुरको व्यावसायिक खेती विस्तार गर्न सम्भाव्यता अध्ययन थालिएको छ । उद्योग वाणिज्य सङ्घले म्याग्दीको घतान गाविसमा अध्ययन शुरू गरेको हो । एक जिल्ला एक उत्पादन कार्यक्रम (ओभीओपी)अन्तर्गत म्याग्दी टिम्मुर खेतीका लागि छनोट भएको हो । म्याग्दीलाई टिम्मुर जिल्लाका रूपमा चिनाउने प्रस्ताव स्वीकृत भएपछि नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल सरकारको कृषि उद्यम केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य सङ्घले सम्भाव्यता अध्ययन थालेको बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सूर्यप्रसाद मर्सानीको नेतृत्वमा वरिष्ठ कृषि विकास अधिकृत महेशचन्द्र आचार्यलगायतको टोलीले टिम्मुरखेती हुँदै आएको घतान तोरीपानीमा स्थानीय कृषकसँग छलफल गरेको छ । उक्त छलफलमा सदस्य मर्सानीले भने, ‘घतानमा विगतदेखि टिम्मुर खेतीका लागि हुँदै आएकाले त्यसलाई व्यावसायिक बनाउन प्राथमिकता दिएका छौं ।’ पहिलो चरणमा सम्भाव्यता अध्ययन र तथ्याङ्क सङ्कलनको काम भइरहेको र यसपछि खेती विस्तारको काम हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै, सङ्घका पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठले टिम्मुरखेती विस्तार गर्न सके जिल्लाको पहिचान बन्ने र रोजगारी सृजना हुने बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.