विराटनगर । १७ करोड रुपैयाँ लागतमा संघीय कृषि मन्त्रालयले मोरङको कटहरी गाउँपालिका–१ मा आधुनिक तरकारी तथा फलफूल थोक बजार बनाएको ५ वर्ष बित्यो । उक्त स्थानमा अहिले थोक बजारको साटो साप्ताहिक शनिवारे र बुधवारे हाट लाग्ने गरेको छ । उद्देश्य एउटा र प्रयोग अर्कै किसिमको हुन थालेको छ ।
संघीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो ।
निर्माण भएर प्रदेश सरकारलाई हस्तान्तरण भएका संरचनाको सदुपयोग हुन नसकिरहेको बेला कटहरी गाउँपालिकाले साप्ताहिक हाट लगाउन शुरू गरेको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले २०८० जेठ ३ गते प्रदेश सरकारका तत्कालीन कृषि, उद्योग तथा सहकारीमन्त्री भक्ति सिटौला, सचिव मेघनाथ तिम्सिना र महाशाखा प्रमुख पशुपति पोखरेलसँग सहमति गरेर प्रयोगविहीन संरचना गाउँपालिकाले प्रयोग गर्न थालेको बताए ।
निर्माण सम्पन्न संरचनाको २०७५ चैत ३ गते उद्घाटन गर्दै संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । विराटनगर बजार क्षेत्रको गुद्री बजार स्थानान्तरण गर्ने योजनासहित निर्माण गरिएको संरचनामा व्यापारी जान मानेनन् । विराटनगर–२ र कटहरी–१ को सीमा जोडिएको स्थानमा संरचना निर्माण भए पनि व्यापारीले नयाँ तरकारी बजार स्थापना गरेर सरेका थिए । नयाँ बनेको संरचनामा व्यापारी जान नमानेपछि प्रदेश सरकारले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालन गर्न दिएको थियो ।
कोशी प्रदेशका ३६ सहकारी संस्थाले १ करोड २३ लाख रुपैयाँ शेयर लगानीमा स्थापना गरेको सहकारी अहिले डुबेको छ । पाँच बिगाहा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि व्यवस्थित संरचना निर्माण गरिएका छन् । प्रशासनिक भवन, ३२ ओटा थोक तरकारी तथा फलफूल पसल र ३२ ओटा खुद्रा पसलका स्टल संरचना, क्यान्टिन, हेल्थ क्लिनिक, म्यानेजर क्लस्टर, सार्वजानिक शौचालय, नापतौल मेशिन, लोड–अनलोड क्षेत्र, डिप ट्युबवेल, सीसीटीभी, जेनेरेटर र सोलार समेतको सुविधा छ । यसैगरी गोदाम घर, बैंक घर, सुरक्षाकर्मीका लागि संरचनासमेत निर्माण गरिएको थियो । दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल सुरक्षित गरेर विक्री गर्नसक्ने क्षमता छ ।
अध्यक्ष चौधरीले गाउँपालिकाभित्र निर्माण भएको संरचना प्रयोगविहीन भएपछि त्यहाँ हटिया सञ्चालन गर्न थालेको बताउँदै आगामी चैत १५ गते कृषि मेला लगाउने तयारी भइरहेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा कृषि उत्पादन प्रवर्द्धन मेला आयोजना गर्ने तयारी भइरहेको उनले बताए ।