काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको 'नाडा अटो शो २०२४' मंगलवार (आज)बाट काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ । पाँचदिन सम्म चल्ने उक्त प्रदर्शनीको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुने मेलामा ५५ ब्राण्डका सवारीसाधन प्रदर्शनी गरिएको छ ।
त्यसमा चारपांग्रेका, दुईपांग्रेका र हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड रहेका छन् । साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टका कम्पनी प्रदर्शनीमा सहभागी छन् । प्रदर्शनीको दैनिक १ लाखका दरले ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
नेपालमा आधिकारिक विक्रेता तथा वितरकको नियुक्ति पाएका अधिकांश आयातकर्ता कम्पनीले यस वर्ष पनि मोटरसाइकल, कार तथा विद्युतीय माइक्रो बसका नयाँ ब्राण्ड प्रदर्शनीमा राखेका छन्। विगतका अटो शोमा पेट्रोलियम गाडीको बाहुल्य हुने गरेकोमा १६औं संस्करणसम्म आइपुग्दा विद्युतीय सवारीसाधन (ईभी)को वर्चस्व देखिएको छ।
प्रदर्शनीमा यसअघि नै सार्वजनिक भइसकेका तथा केही नयाँ मोडेलसमेत सार्वजनिक भएका छन् भने केही सार्वजनिक हुने तयारीमा छन् । हुन्डाईको नेपालमै एसेम्बल भएको भेन्युदेखि मोडल सार्वजनिक नगरिएका सवारी अटो शोमा राखिएको छ ।
हुन्डाईकै नयाँ क्रेटा फेसलिफ्ट,स्काइवेल ईटी फाइभ, एवोन वाई, एमजीको साइबरस्टर स्पोर्टस् कार, बीवाईडी एट्टो-३, दिपल एल-०७ सहित मोडल गोप्य राखिएको नयाँ ईभी, नेक्सन भेन्चर्स ‘प्रीमियम एसयूभीएल ईभी ०१’,बीएमडब्लुको आईएक्स-१ एसएभी, ‘डोङफेङ प्यासेन्जर भेइकल’नामी–०१, जेको जे सिक्स, अवतार–११, लिपमोटर सी–१० महिन्द्रा एक्सयूभी एक्सओ, लिंकटुर एफ–१०, जीकर एक्स, चांगन लुमिन, बीएडब्लुको ब्रम्बी ह्याचब्याग, एक्सपेङ लगायतका लग्जरी देखि साधारण, उच्च देखि मध्यम मूल्य रेञ्ज भएका सवारी प्रदर्शनीमा राखिएको छ ।
त्यस्तै, बीवाईडी एमसिक्स, राडार आरडी सिक्स, जीएसी आयोन भी, जीएसी आयोन भी,ग्रेटवाल मोटर्स ट्यांक ५००, काई ईक्यूलगायत थुप्रै ब्राण्ड र मोडेलका सवारी प्रदर्शनीमा आएका छन् ।
तस्वीर सबै सुनिल शर्मा/आर्थिक अभियान