हामी सबै युट्युब प्रयोग गर्छौं । तर, यही युट्युबबाट प्रशस्त आमदानी गर्न सकिन्छ । केही नेपालीले पनि अहिले यसबाट राम्रो आमदानी गरिरहेका छन् । अहिले भारतको एउटा सानो गाउँ अचम्मको डिजिटल केन्द्र बन्दै गएको छ । अहिले त्यहाँका चौथाइभन्दा बढी बासिन्दा युट्युबबाट आमदानी गरिरहेका छन् । यो आमदानीले गाउँको अर्थतन्त्रलाई कसैले कल्पना नगरेको तरीकाले रूपान्तरण गरिरहेको छ । एउटा सानो शौकको रूपमा शुरू भएको युट्युबले अहिले एक चौथाइभन्दा बढी गाउँलेलाई लखपति बनाएको छ । यो अहिले त्यहाँ ठूलो उद्योगमा परिणत भएको छ । त्यो गाउँ हो : तुलसी ।
छत्तीसगढ राज्यको एउटा सानो गाउँ तुलसी अहिले अप्रत्याशित रूपमा डिजिटल खजानामा परिणत भएको छ । यस गाउँमा १ हजारभन्दा बढी मानिस युट्युबबाट आफ्नो जीविका चलाइरहेका छन् ।
यो यात्रा सन् २०१८ मा दुई युवा जय वर्मा र ज्ञानेन्द्र शुक्लाले शुरू गरेका थिए । उनीहरूले रमाइलोको लागि युट्युब च्यानल शुरू गर्दा यसको आधार तयार भएको भयो । केही महीनामै बेइन छत्तीसगडिया नामक उनीहरूको च्यानल भाइरल बन्यो र १ लाख २७ हजारभन्दा बढी सब्सक्राइबरहरू पुगे । त्यसपछि यी दुईले आफूले खाइरहेको जागीर छोडे र पूर्णरूपमा कन्टेन्ट क्रिएशनमा लागे । यही सफलता देखेर उनीहरूले गाउँका अन्य मानिसलाई पनि युट्युब च्यानल बनाउन सिकाए । केही समयमै यो एउटा डिजिटल लहरजस्तै बन्यो, जसले गाउँको अर्थतन्त्र नै परिवर्तन गरिदियो । आज हजारौं गाउँलेले युट्युबबाट राम्रो आमदानी गरिरहेका छन् । धेरैले ३० हजार भारतीय रुपैयाँभन्दा बढी मासिक कमाइ गरिरहेका छन्, जुन भारतका शहरहरूमा पाइने तलब बराबर छ ।
किसानदेखि इनफ्लुएन्सरसम्मले युट्युब च्यानलमा आफ्नो सामग्री अपलोड गर्छन् । तुलसीको युट्युबको ठूलो प्रभाव पैसा कमाउनुमा मात्र सीमित छैन । यसले पूरै गाउँलाई रूपान्तरित गरेको छ । विगतको दाँजोमा अहिले गाउँमा अपराधका गतिविधि निकै घटेको छ । विगतको बेरोजगारी हटेर अहिले प्राय: सबै रोजगार भइरहेका छन् । डिजिटल रूपान्तरणका कारण नयाँनयाँ अवसरहरू खुलिरहेका छन् ।
अझ रोचक कुरा के छ भने, गृहिणीहरू आफ्ना श्रीमान्हरूभन्दा बढी पैसा कमाउन थालेका छन् । कतिपय महिला खाना पकाउने विधिहरू शेयर गर्छन्, केहीले गाउँको दैनिक जीवन देखाउँछन् । केही महिला मनोरञ्जन र कमेडी भिडियोहरू बनाइरहेका छन् । हरेकले आफ्नो क्षमता देखाइरहेका छन् र डिजिटल रूपान्तरणबाट शहरिया जागिरेले भन्दा बढी राम्रो आमदानी गरिरहेका छन् ।
तुलसीको सफलता देखेर छत्तीसगढ सरकारले सन् २०२३ मा गाउँमै एउटा व्यावसायिक युट्युब स्टुडियो निर्माण गरिदियो । स्टुडियोमा अत्याधुनिक क्यामेरा, साउन्डप्रूफ रूम र सम्पादन सफ्टवेयरहरू उपलब्ध गरायो । त्यसको नतिजा गाउँलेहरूले अझ गुणस्तरीय कन्टेन्ट बनाउन थाले र उनीहरूको आमदानी अझै बढ्यो । युट्युबले गर्दा गाउँमा ठूलो परिवर्तन आएको छ । तर, परिवर्तनले सबै सकारात्मक पक्षमात्रै ल्याउँदैन । सँगै नकारात्मक पक्ष पनि आउँछ । तपाईं तुलसी सरिहान जान चाहनुहुन्छ भने, यहाँ केही चुनौती पनि छन् ।
युट्युबमा पस्किएका सामानको एल्गोरिदम परिवर्तन हुन सक्छ । एक गलत कदमले आमदानी गुम्न सक्छ । युट्युबमा अत्यधिक निर्भरता बढ्नु राम्रो होइन । यदि युट्युबको नीतिमा परिवर्तन आयो भने पूरै गाउँको आमदानी जोखिममा पर्न सक्छ । भाइरल कन्टेन्ट बनाउन सजिलो छैन, मानसिक तनाव पनि हुन सक्छ । थकान पनि हुन सक्छ । गाउँका धेरै मानिसले युट्युबबाट पैसा कमाउने सपना देखिरहेका छन्, तर सबै सफल हुन सक्दैनन् ।
के तुलसी भारतको युट्युब राजधानी बन्छ भन्ने प्रश्न अहिले उठेको छ । स्पष्ट छ, तुलसीले इतिहास रचिसकेको छ । अब प्रश्न के छ भने, के यो प्रवृत्ति निरन्तर रहला ? या अस्थायी डिजिटल लहर मात्र बन्ला ? जे जस्तो भए पनि, अहिलेका लागि तुलसीले संसारलाई देखाइरहेको छ कि ठूला शहरमा नबसे पनि डिजिटल दुनियाँमा ठूलो आमदानी गर्न सकिन्छ । एउटा स्मार्टफोन, इन्टरनेट र सृजनात्मकता छ भने केही लगानी नगरी लाखौं कमाउन सकिने अवस्था डिजिटल पहुँचले निम्त्याएको छ । भारतको गाउँले यस्तो सफलताको उदाहरण दिइरहँदा नेपालमा भने युट्युबको प्रयोग राजनीतिक स्वार्थ पूरा गर्न, उग्र प्रचार सामग्री बनाउनमा बढी प्रयोग भएको पाइन्छ । यद्यपि नेपालमा पनि केही व्यक्तिले यसबाट राम्रो आमदानी गरेका छन् । तपाईं पनि युट्युबबाट पैसा कमाउन चाहनुहुन्छ भने सृजनात्मक क्षमताको प्रयोग गरी नवीन कन्टेन्ट पस्कनुहोस् ।
(इन्डियन डिफेन्स रिभ्यु डट कम मा प्रकाशित सामग्रीबाट)