स्पेनको क्यानरी आइल्यान्डमा पर्यटकको अत्यधिक आगमन भएपछि त्यहाँका स्थानीयले यसको विरोध गर्दै भोक हडताल गरेका छन् । उनीहरूले त्यहाँ निर्माण हुन लागेका होटेल र रिसोर्टको काम रोक्न माग गरेका छन् । यस्तो विरोध त्यहाँ यो पहिलो होइन । अघिल्लो हप्ता त्यहाँ शृंखलाबद्ध विरोध भएको थियो । २२ लाख जनसंख्या बसोवास भएको यस टापुमा सन् २०२३ मा १४ लाख पर्यटक आएका थिए । स्पेनको संसद्मा समेत यहाँ होटेल निर्माण गर्ने विषयमा मतदान भयो जहाँ यसलाई नरोक्ने पक्षमा निर्णय भएको थियो । बढी पर्यटककै कारण त्यहाँको पर्यटन समस्यामा परेको स्थानीय अभियन्ताको भनाइ छ । त्यहाँका भित्तामा ‘टुरिस्ट गो होम’ लेखेको यत्रतत्र देखिन्छ जसको अर्थ हो, पर्यटक तिमी आफ्नो घर फर्क । पर्यटनले शहर मर्छ अर्थात् टुरिजम किल्स सिटी भनेर ठाउँठाउँमा पोस्टर टाँसेको देखिन्छ ।
स्पेनको ठूलो शहर बार्सिलोनामा पनि यस्तै नारा भित्ताहरूमा लेखेको देखिन्छ । अभियन्ताहरू पर्यटकको संख्या घटाउनुपर्ने पक्षमा निरन्तर दबाब दिइरहेका छन् । पर्यटकका कारण घरभाडा बढेकाले कतिपय स्थानीयले गाडीमा सुत्नुपरेको गुनासो गरेका छन् । यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ३५ प्रतिशत छ र ४० प्रतिशत रोजगारी सृजना गरेको छ ।
स्पेनका शहरमा मात्र यो अभियान सीमित छैन । इटालीमा पनि यस्तै भइरहेको छ । भेनिस आदि शहरमा पर्यटकका कारण स्थानीय बासिन्दाको शान्ति र आनन्द खोसिएको भन्दै पर्यटक आगमनको विरोध भइरहेको छ । योे अभियान चलाएको केही वर्ष भइसकेको छ ।
इटालीको पोर्टफोनोमा सेल्फी खिच्न बढी भीड भएपछि त्यहाँ उभिएर पर्खन नपाइने र त्यसो गरे ७२५ यूरो जरीवाना तिराउने निर्णय गरेको छ । फ्लोरेन्स, भेनिसका स्मारकका खुट्किलामा बसेमा २५० यूरो जरीवाना तिराउन थालिएको छ । पदयात्रामा अहिलेसम्म नेपालको राम्रो छवि छ तर त्यसमा पनि समस्या आउन थालिसकेको छ ।
आवासको कमी, ट्राफिक समस्या, हल्लाखल्ला, प्रदूषणका कारण यूरोपका धेरै शहरमा पर्यटनविरोधी नीति लिन थालिएको छ र पर्यटकलाई निरुत्साहित पार्न थालिएको छ । बढी पर्यटक त्यहाँको समस्याको कारण मानिएको छ । त्यसैले पर्यटक संख्या घटाउने र आउनमा पनि रोक लगाउने, शहर प्रवेशमा शुल्क लगाउने विषयमा छलफल चल्न थालेको छ । त्यसैले अब भेनिस र त्यसआसपासका टापुमा पस्न मात्रै पनि पर्यटकले ३ देखि १० यूरो तिर्नुपर्ने नियम लागू गरिएको छ । स्मारक, चर्च हेर्न पर्यटकले घण्टौं लाइन बस्नुपर्ने बाध्यतासमेत देखिएको छ । भेनिसको पुल पार गर्न पनि पालो कुर्नुपरेको बताइन्छ ।
आम्स्टर्डममा पनि पर्यटकलाई नआउन भनिएको छ । त्यहाँका नगरप्रमुखले शहरमा सकारात्मक प्रभाव पार्ने बाहेक अन्यलाई यहाँ आउन निरुत्साहित गरिरहेको बताएका छन् । इटालीको पोर्टफोनोमा सेल्फी खिच्न बढी भीड भएपछि त्यहाँ उभिएर पर्खन नपाइने र त्यसो गरे ७२५ यूरो जरीवाना तिराउने निर्णय गरिएको छ । फ्लोरेन्स, भेनिसका स्मारकका खुट्किलामा बसेमा २५० यूरो जरीवाना तिराउन थालिएको छ । कतिपय सागर तटमा बालुवामा केही आकृति बनाए पनि जरीवाना तिराउन थालिएको छ । त्यस्तै भेनिसमा जाने पर्यटकको संख्या पनि सीमित पार्न थालिएको छ ।
फ्रान्सको नीस, कोते दुजुरमा पनि पर्यटक घटाउने नीति लिइएको छ । पोर्चुगलले समुद्रको किनारमा ठूलो आवाजमा गीत बजाउने व्यक्ति वा समूहलाई २ सयदेखि ३६ सयसम्म जरीवाना लगाउन थालेको छ । क्रोएशियाको डुब्रोभ्निकमा पर्यटकले लगेज बोकेर हिँड्न नपाउने नियम लागू गरिएको छ । अन्य धेरै यूरोपेली देशले बढी पर्यटकको संख्या घटाउने नीति लिएको वा लिनुपर्ने विषयमा छलफल र अभियान चलाइएको छ । यद्यपि यस्ता प्रतिबन्धका नियमहरू पूर्णरूपमा लागू भएको भने पाइँदैन । यसले एउटा प्रश्न भने उठाएको छ, किन पर्यटनका विरुद्धमा स्थानीयले अभियान चलाए त ? यो प्रश्न नेपालका लागि पनि महत्त्वपूर्ण छ ।
पर्यटक आगमनले स्थानीयको जीवनमा हस्तक्षेप गर्ने, अमनचैन भंग गर्ने भयो भने त्यसको विरोध हुने रहेछ भन्ने यूरोपको यो अभियानले देखाएको छ । पर्यटन व्यवसायले आम्दानीमात्रै हेर्ने, टुर अपरेटरहरूले स्थानीयको समस्या नसुन्ने, तिनलाई पर्यटनसँग नजोड्ने गर्दा नै यस्तो अभियान चलेको देखिन्छ । त्यहाँको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान भए पनि स्थानीयलाई त्यसले विभिन्न किसिमले असर पारेपछि स्थानीयको असन्तुष्टि बढेको बुझ्न सकिन्छ । यूरोपको पर्यटक नआऊ भन्ने अभियानबाट नेपालले पनि केही कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।
यूरोपमा जस्तो हामीकहाँ बढी पर्यटक आउने समस्या छैन । तर, सगरमाथा चढ्न मानिस लाइन लागेर बसेको तस्वीर विश्वभरि नै भाइरल बनेको थियो । त्यसले दिने सन्देश पनि यूरोपकै जस्तो समस्या हो । सगरमाथाको चुच्चोमा पुग्नका लागि लाइन लाग्नुपर्ने भएपछि त्यसले पर्यटकमाझ सकारात्मक सन्देश जाँदैन । सगरमाथाको महत्त्व पनि यसले घटाउँछ । त्यसैले नेपालले सबै ठाउँमा जति पर्यटक आए पनि हुने, जेजस्ता क्रियाकलाप पनि गर्न पाउने भन्ने वर्तमान नीतिमा पुनर्विचार गर्न ढिला भइसकेको छ । केही हिमाल अझै पनि आरोहणका लागि खुला गरिएको छैन । ती हिमालमा आरोहण खुला गर्न पर्यटन व्यवसायीले माग गरिरहेका छन् । प्रतिबन्ध लगाएको ठाउँमा जान खोज्नु मानवीय स्वभाव नै हो । यस्तोमा यूरोपमा अहिले पर्यटकको भीडभाडबाट बनेको मानसिकताबाट हामीले पनि केही सिक्न जरुरी छ र यस्तो कुमारी गन्तव्यलाई कुमारी नै राख्नुपर्छ । अलिकति रहस्य, अलिकति रोमाञ्च, अलिकति डर र अलिकति साहस नभए उच्च मूल्यको पर्यटन सम्भव छैन । नेपालमा अहिले २० लाख र ३० लाख पर्यटकको कुरा उठिरहेको छ । मुलुकको जनसंख्याको आधारमा यो संख्या निकै कम हो । नेपालको प्रमुख पर्यटकीय शहरमा यति पर्यटकले केही पनि असर पार्दैनन् । तर, रारा, शेफोक्सुन्डो, उच्च हिमशृंखलाहरूमा भने बढी पर्यटकले समस्या पार्ने निश्चित छ ।
जथाभावी खनिएका धूलाम्य सडकका कारण पर्यटकले असन्तुष्टि पोख्न थालिसकेका छन् । यसमा पनि छोटो रुटलाई प्राथमिकता दिँदा लामो समयका लागि आउने पर्यटकको संख्या घट्न थालिसकेको छ ।
नेपालमा पर्यटनले कुल गार्हस्थ्य उत्पादनमा कति योगदान दिएको छ र कति पुर्याउने हो भन्ने स्पष्ट नीति छैन । पर्यटन रणनीतिमा यसबारे केही उल्लेख भए पनि त्यो यथार्थपरक देखिँदैन । अर्थात् कति लगानी गर्ने, कति पर्यटक ल्याउने, तिनको बसाइ अवधि कति हुने र उनीहरूले दैनिक कति खर्च गर्नुपर्नेजस्ता विषयमा गम्भीर नीति बनेको छैन भन्दा हुन्छ । नेपालभन्दा सानो भए पनि भुटानले बरु यसमा सही नीति लिएको छ । निश्चित मापदण्ड पूरा नगर्ने पर्यटक त्यहाँ जानै पाउँदैनन् । नेपाल भने भिसा शुल्कसमेत नि:शुल्क गरेर संख्या बढाउने अभियानमा लागेको छ । त्यसमाथि पनि पर्यटन व्यवसायीहरूबीच रहेको अस्वस्थ प्रतिस्पर्धाले निकै सस्तोमा पर्यटकले खानेबस्ने सुविधा पाइरहेका छन् । त्यही सस्तोमा पनि तानातानको अवस्था छ ।
पर्यटक आगमनको विरोध हुनुको एउटा कारण स्थानीय समाजलाई पर्यटनसँग जोड्न नसक्नु, तिनको आय र जीवनस्तरमा पर्यटनले कुनै असर नपार्नु पनि हो । नेपालका पर्यटकीय स्थलमा धेरै पर्यटक आएर समस्या परेको भन्ने सुन्नमा आएको छैन । त्यो संख्यामा पर्यटक आएका पनि छैनन् । तर पनि स्थानीय संस्कृतिमा असर परेको गुनासो भने यदाकदा सुन्न पाइन्छ । नेपालमा आउने पर्यटकले पारेको प्रभावचाहिँ वातावरणीय क्षति हो । हिमाल आरोहणमा सबैभन्दा बढी समस्या छ । वर्षेनि ठूलो परिमाणमा हिमालमा आरोहीले लगेर फालेका फोहोर जम्मा हुने गरेको छ । त्यस्तै त्यहाँ जीवन गुमाउने पर्यटकको लाश फेला नपर्दा पनि त्यहाँ प्रदूषण भइरहेको छ । हिमालमा रहेको फोहोर सफा गर्न बेग्लै अभियान चलाउने गरिएको छ । यसले त्यहाँ जाने पर्यटकले तिरेको रोयल्टी रकम थोरै भएको हो कि भन्ने देखिन्छ । त्यसैले हिमाल आरोहणलाई व्यवस्थित गर्न नयाँ नीति बनाउन आवश्यक देखिन्छ । त्यस्तै उत्तरी हिमाली क्षेत्रका स्मारक, सम्पदा, तालतलैया आदिमा पर्यटकको संख्या बढी भएर समस्या आउन दिनु हुँदैन ।
नेपालले दिगो पर्यटनको नीति लिनुपर्छ । दिगो पर्यटन त्यति बेलामात्रै सही हुन्छ जति बेला संख्यामा होइन, गुणस्तरमा ध्यान दिइन्छ । हुलका हुल पर्यटक आएर कुनै गुम्बामा जाँदा त्यहाँ ध्यानमा अवरोध पुग्न सक्छ, भिक्षुहरूको एकाग्रतामा असर पुग्न सक्छ । त्यस्तै कुनै मन्दिरमा अनावश्यक भीड हुँदा त्यसले पनि सकारात्मक सन्देश जाँदैन । पर्यटक आगमनको लाभहानि दुवै पक्षको राम्रो विश्लेषण गरेर संख्यामा ध्यान जानुपर्छ । बढी पर्यटक आउँदा हाम्रो पर्यटन प्याकेजले सस्तो मात्रै पहिचान पाउनु हुँदैन । अहिले यूरोपमा देखिएको पर्यटनविरोधी अभियानबाट नेपालले पाठ सिकेर भीड बढाउनभन्दा गुणस्तर बढाउन र पर्यटनको मौलिक महत्त्व जोगाउन तथा पर्यटन क्षेत्रको मौलिक स्वरूप बिग्रन नदिने बनाउन जरुरी छ ।
खासमा नेपालको पर्यटनको ब्रान्डिङ राम्ररी हुन सकेको छैन । सगरमाथा, पोखरा र सौराहाको त्रिवेणीमा मात्रै पर्यटन कति दिगो हुन्छ र कति गुणस्तरीय ? विगतमा र्याफ्टिङको राम्रो मानिएको नेपाल अहिले नेपालीले मात्रै यसलाई बचाएका छन् । पदयात्रामा अहिलेसम्म नेपालको राम्रो छवि छ तर त्यसमा पनि समस्या आउन थालिसकेको छ । जथाभावी खनिएका धूलाम्य सडकका कारण पर्यटकले असन्तुष्टि पोख्न थालिसकेका छन् । यसमा पनि छोटो रुटलाई प्राथमिकता दिँदा लामो समयका लागि आउने पर्यटकको संख्या घट्न थालिसकेको छ । सुविधा थप्ने नाममा प्रकृतिको सौन्दर्य बिगार्न थालेपछि र भीडभाड बढ्न थालेपछि यसको स्वादमा पर्यटक असन्तुष्ट हुनु स्वाभाविकै हो । त्यसैले नेपालले कस्तो खालको पर्यटनमा आफ्नो ब्रान्ड स्थापित गर्ने हो, त्यसमा गम्भीर गृहकार्य गर्नु जरुरी छ ।
१० लाख पर्यटक पुग्नु नराम्रो होइन तर हामीले कस्ता पर्यटकलाई स्वागत गरिरहेका छौं भन्ने चाहिँ महत्त्वपूर्ण हो । भिसा नचाहिने, भिसा शुल्क नलाग्ने मुलुकको पर्यटकको संख्यामा दंग पर्दा पर्यटनको ब्रान्डिङमा ध्यान दिन पुगेको छैन । यूरोपले पर्यटकका कारण स्थानीयको शान्ति भंग भएको भन्दै विरोध गर्न थालेको सन्दर्भमा नेपालमा पनि झोले पर्यटकमात्रै बढे भने त्यस्तै समस्या नआउला भन्न सकिँदैन । यद्यपि नेपालमा पूर्वाधार, भौगोलिक अवस्था जनसंख्या आदि सबै दृष्टिले २०/३० लाख पर्यटक भनेको सानो संख्या नै हो । तैपनि हामीले के बिर्सनु हुँदैन भने संख्यामा मात्रै ध्यान दिँदा बढी भीडभाडका कारण नकारात्मक सन्देश जान सक्छ र पर्यटक आगमन घट्न सक्छ जुन प्रवृत्ति अन्य देशमा देखापर्न थालिसकेको छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।