काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले भोलि फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्डको इकाई निष्कासन गर्दै छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री गर्न लागेको हो । कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो इकाई छिटोमा फागुन २३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
योजनाको इकाई निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ ।
क्यापिटलकै व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ ।
योजनाको न्यूनतम ४ करोड इकाई विक्री हुनुपर्नेछ । न्यूनतम इकाई विक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरूको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरू गरिने क्यापिटलले जानकारी दिएको छ ।
योजना परिपक्व भएपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानूनबमोजिम इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।