काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक सामान्य अंक घटेको छ । यस दिन परिसूचक १ दशमलव ८५ अंक घटेर २ हजार १० दशमलव २१ विन्दुमा कायम भएको हो । बजार समान्य अंक घट्दा लगानीकर्ताको आकर्षण भने लघुवित्त समूहको शेयरमा परेको छ ।
१३ समूहगत परिसूचमध्ये आज सबैभन्दा बढी लघुवित्त समूहको सूचक १ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । लामो समयदेखि यस समूहको सूचक बढेको थिएन । पछिल्लो समय भने लघुवित्त समूहको शेयरमा लगानीकर्ता आकर्षित हुन थालेका छन् । यस समूहका कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ता आकर्षित भएको अनुमान लगाउन सकिन्छ । पछिल्लो केही दिनयता शेयर बजार सुस्तनै भएको देखिन्छ । लगानीकर्ता नीतिगत परिवर्तन हुनुपर्ने माग गरिहेका छन् ।
मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १६ प्रतिशत वृद्धि भएको छ भने फ्लोट इन्डेक्स शून्य दशलमव ०८ प्रतिशत घटेको छ ।
यस दिन ३१२ धितोपत्रमध्ये १०९ को मूल्य बढेको छ । मंगलवार ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर ४६ हजार २३५ पटकमा रू. २ अर्ब २९ करोड बरावरको शेयर कारोबार भएको छ । कारोवारमा आएका धितोत्रपमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६३३ दशमलव ५० पुगेको छ । त्यस्तै गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत बढेर रू. १ हजार ७२ पुगेको हो ।
मंगलवार सबैभन्दा बढी ज्योति विकास बैंक बण्ड २०८७ नामक ऋणपत्रको मूल्य ७ दशमलव ५० प्रतिशत घटेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रू. ९२५ मा झरेको हो । त्यस्तै मनकामना इन्जीनियरिङ्ग हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव २८ प्रतिशत घटेर रू. ३१२ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा गोर्खाज फाइनान्सले ओगटेको छ । कम्पनीको रू. १४ करोड ९८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८८० कायम भएको छ । त्यस्तै सर्वोत्तम सिमेन्टको रू. ९ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । लघुवित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ भने हाइड्रोपावर समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ७९ प्रतिशत घटेको छ ।