काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू. ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू. ८ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा रू. नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र रू. एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको हो ।
विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कुल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ ।
त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा ६ दशमलव २० प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।
सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा रू. चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट रू. पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा रू. ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ ।
त्यस्तै, चीनसँगको व्यापार घाटा रू. एक खर्ब ९० अर्ब ४४ करोड बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट रू. एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा रू. दुई अर्बको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।
नेपालले ३५ ओटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानस्तानसँग छ । अफगानस्तानसँग सात महीनामा रू. एक करोड २४ लाखको आयात र रू. ५९ करोड ४५ लाखको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरूसँग व्यापार नाफा बढी छ ।
विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा रू. २९ अर्ब ४५ करोड १६ लाखको डिजेल, रू. २४ अर्ब ५८ करोड ३२ लाखको पेट्रोल र रू. छ अर्ब ६१ करोड ६५ लाखको एलपि ग्यास आयात भएको छ ।
त्यस्तै, रू. पाँच अर्ब ५० करोड ९० लाख बराबरको विद्युतीय सवारीसाधन र रू. पाँच अर्ब ४३ करोड ४१ लाखको अन्य सवारीसाधन आयात भएको छ । सात महीनामा रू. तीन अर्ब ५३ करोड ९७ लाख बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा रू. ३२ अर्ब ४१ करोड ५७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, रू. ६ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, रू. पाँच अर्ब ३८ करोड ८० लाखको अलैंची, रू. तीन अर्ब ८९ करोड ५२ लाखको कार्पेट, रू. तीन अर्ब १० करोडको धागो र रू. तीन अर्ब बराबरको चिया निर्यात भएको छ । रासस