काठमाडौं । यूरोपेली कम्पनी एयरबसका दुईओटा हेलिकोप्टरबाट सेवा दिइरहेको माउन्टेन हेलिकोप्टर सोही कम्पनीको हेलिकोप्टर थपेर तीनओटा पुर्याउने तयारीमा छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त हेलिकोप्टर नल्याउन मौखिक निर्देशन दिएको कम्पनीका महाप्रबन्धक दिलबहादुर ओलीले बताए ।
‘प्राधिकरणबाट हेलिकोप्टर नल्याउन औपचारिक पत्र त आएको छैन,’ ओलीले भने, ‘तर, मौखिक निर्देशन दिएको छ । त्यसअनुसार हामीलाई हेलिकोप्टर होल्ड गर्न भनिएको छ ।’
उनका अनुसार प्राधिकरणले मौखिक जानकारी बिहीवार मात्रै दिएको छ । किन र कति दिनका लागि रोक्ने भन्ने जानकारी गराएको छैन । ‘केही समाधानसहितको निर्देशन हामीले कुरेका छौं,’ उनले भने, ‘यो हेलिकोप्टर चीनको कम्पनीले ल्याएर उडाइरहेको थियो । हामी त्यही किनेर १५ दिनभित्र ल्याउने तयारीमा थियौं ।’
प्राधिकरणले यूरोपेली निर्माता एयरबसका जहाज खरीद निरुत्साहित गर्ने नीति घोषणा गरेको छ । नेपालले नागरिक उड्डयन सुरक्षा मापदण्ड लागू दरमा उल्लेख्य सुधार गर्दासमेत यूरोपेली संघ (ईयू)ले नेपाललाई सुरक्षा सूची (कालोसूची) बाट नहटाएको र एयरबसका उत्पादनको प्राविधिक सुरक्षा पर्फर्मेन्समा कैफियत देखिएको भन्दै प्राधिकरणले यस्तो नीति लिन लागेको दाबी गरेको छ । नेपालमा एयरबसकै हेलिकोप्टर र जहाजको वर्चस्व रहेका बेला प्राधिकरणले अरू वायुयान कम्पनीका लागि पनि बजार खुला राख्ने तर्क गरेको छ । यसका साथै सुरक्षा मापदण्ड लागू दरमा उल्लेख्य सुधार गर्दा पनि ईयूले सुरक्षाभन्दा अन्य कुरामा चासो दिएको प्राधिकरणको ठहर छ ।
सन् २०१३ डिसेम्बर ५ देखि अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सिग्निफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी)मा राखेपछि ईयूले पनि नेपाललाई सुरक्षा सूचीमा राखेको थियो ।
यी संस्थाले नेपाललाई यस्तो सूचीमा राखेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन क्षेत्रको समग्र सुरक्षा सुधारमा विभिन्न काम गर्दै आएको छ । आइकाओले सुरक्षा सूचीबाट हटाउँदासमेत ईयूले हटाएको छैन ।
‘सुरक्षाका विभिन्न क्षेत्रमा लगातार काम गरेपछि सन् २०१७ मा पुनः आइकाओले अडिट गरेको थियो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘सन् २०१३ मा सुरक्षा मापदण्ड लागू दर ५५ प्रतिशत थियो भने सन् २०१७ मा आइकाओले अडिट गर्दा यस्तो दर ६६ दशमलव ७६ प्रतिशत पुगेको थियो । आइकाओको अडिटमा सुरक्षा सुधार भएको प्रमाणित हुनु भनेको प्राधिकरण तथा नेपालले सुधार गरेरै भएको हो ।’
आइकाओले एसएससीबाट सन् २०१७ को जुलाई २० मा हटाएको थियो । आइकाओले हटाएपछि प्राधिकरण ईयूको सुरक्षा सूचीबाट पनि हट्ने अपेक्षा थियो । तर, ईयूले त्यसो गरेन । सन् २०१७ पछि ८ वर्षसम्मै ईयूले नेपाललाई कालोसूचीमै राखेको छ । ‘सेफ्टी/एभिएसनभन्दा अरू नै क्षेत्रमा चासो केन्द्रित गरेर विभिन्न किसिमका कन्डिसन राख्ने गरेको छ । ईयू पछिल्लो सेफ्टी एसेस्मेन्टमा पनि नागरिक उड्डयन प्राधिकरणको कामभन्दा संस्थाको संरचनामा बढी केन्द्रित भएको पाइयो ।’
प्राधिकरणका अनुसार अहिलेसम्म नेपालमा भएका ११० हवाई दुर्घटनामा ९६५ यात्रुको निधन भएको छ । यसमध्ये ४१ हेलिकोप्टर दुर्घटनामा करीब १०० जनाको निधन भएको छ । नेपालमा भएका दुर्घटना र अहिले नेपालमा सञ्चालनमा रहेका जहाजहरू एटिआर–७२, विगतका बिचक्राफ्ट र हेलिकोप्टरको पर्फर्मेन्स हेर्दा एयरबसका वायुयानको पर्फर्मेन्सले केही भूमिका खेलेको प्राधिकरणको दाबी छ । पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना होस् वा अन्य ससाना दुर्घटना र हेलिकोप्टर दुर्घटना तिनमा धेरथोर विमानको प्राविधिक पर्फर्मेन्सको पनि भूमिका रहेको प्राधिकरणका ती अधिकारीले बताए ।
नेपालमा भएका १२ ओटा हेलिकोप्टर कम्पनी र नौओटा एयरलाइन्सहरू विस्तारै एटीआर–७२ विमानतिर र एयरबसका हेलिकोप्टरतिर सिफ्ट भइरहेका छन् । ‘तर, नेपाल जस्तो भौगोलिक रूपले कठिन ठाउँमा सिंगल इन्जिन भएको वा इन्जिन फेल भएको अवस्थामा एटीआर–७२ विमान वा हेलिकोप्टरलाई मेन्युअर गर्न अप्ठ्यारो हुने हाम्रो प्रारम्भिक अध्ययनले देखाएको छ,’ प्राधिकरणका ती अधिकारीले भने ।
यस्तै सिमरा, तुिम्लङटार, भरतपुर विमानस्थलमा पनि एउटा इन्जिन फेल भएको अवस्थामा सुरक्षित रूपमा मेनुअर गर्न त्यस्ता जहाजको पर्फर्मेन्स नपुग्ने अवस्था देखिएको उनले बताए । हेलिकोप्टरको अध्ययन गर्दा तिनको पनि प्राविधिक पर्फर्मेन्समा कैफियत देखिएको छ । अहिले व्यवसायीले प्रतिस्पर्धाका लागि एकै किसिमका जहाज र हेलिकोप्टर ल्याउन थालेका छन् । प्राधिकरणले एयरबसका जहाजको प्राविधिक क्षमता र नेपालजस्तो भूगोल भएको ठाउँमा त्यसको पर्फर्मेन्स ठीक हुन्छ कि हुँदैन भनेर अध्ययन गर्दा कैफियत देखिएको दाबी गरेको छ ।
यसैबीच प्राधिकरणले बिहीवार राति पौने ९ बजे सामाजिक सञ्जाल एक्समार्फत युरोपेली हेलिकोप्टर/वायुयान आयातमा प्रतिबन्धसम्बन्धी समाचार गलत भएको जनाएको छ । प्राधिकरणले दबाबका कारण यस्तो बताएको ठानिएको छ । प्राधिकरणका अधिकारीले बिहीवार दिउँसो आर्थिक अभियानसँगको कुराकानी युरोपेली वायुयान आयात निरुत्साहित गर्ने बताएका थिए ।
प्राधिकरणले एक्समार्फत भनेको छ, ‘विश्वभरका सुरक्षित वायुयान निर्माता कम्पनीहरूलाई नेपालमा खुला र समान अवसर प्रदान गर्ने सम्बन्धमा भएको छलफलको तथ्यविपरीत सञ्चार माध्यमहरूमा आएका 'नेपालमा यूरोपेली हेलिकोप्टर/वायुयान आयातमा प्रतिबन्ध' सम्बन्धी समाचारहरूका सम्बन्धमा कुनै पनि आधिकारिक निर्णय नभएको व्यहोरा अनुरोध छ ।’