काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रूपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायक स्तरका २ जना कर्मचारीलाई ‘चौधदिने पूर्व सेवाकालीन तालीम’ काठमाडौंमा सञ्चालन गरेको छ ।
तालीमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राष्ट्रिय वाणिज्य बैंकप्रति जनताको विश्वास रहेको र विश्वासलाई जोगाइराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीले सधैं जिम्मेवार भएर सेवा दिनुपर्ने बताए । विभिन्न प्रक्रियापश्चात् बैंकले युवा कर्मचारीलाई नियुक्ति दिएको भन्दै उनले बैंकिङ क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनीकरण गरी कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।
कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रम मानव संसाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्मालक्ष्मी जिसी लगायत कर्मचारीको उपस्थिति थियो ।