काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई)बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ ।
नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितिमा बिहीवार परिसंघ सचिवालयमा आयोजित हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्राडा. लेखनाथ शर्मा र परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।
सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघले नेपाल सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिँदै आएकोमा अब प्रतिष्ठानसँगको समझदारीले सो कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष शर्माले निजीक्षेत्रको प्रतिनिधिमूलक संस्था परिसंघसँगको सहकार्यले विषयगत अनुसन्धानका लागि सहकार्यको संस्कृतिलाई बलियो बनाएको बताए । सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिष्ठानका प्रवक्ता डा. दिपककुमार खड्कालगायत सहभागी थिए ।