काठमाडौं । प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा रु. ४५ करोडभन्दा बढी लगानी गर्ने भएको छ ।
हाइड्रो इम्पाएर प्रा.लि. मार्फत निर्माण गरिने सो आयोजनामा स्वपूँजी लगानी गर्नेसम्बन्धी सम्झौतामा इम्पायरका अध्यक्ष काजी लामा र प्रभु स्टील्सका अध्यक्ष भोज कुमार खड्काले संयुक्त रूपमा हस्ताक्षर गरे । उक्त सम्झौता काठमाडौंको एक होटलमा भएको हो ।
उक्त लगानीपछि जलविद्युत आयोजनामा कम्पनीको स्वामित्व २० प्रतिशत हुनेछ ।
म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा रहेको धौलागिरी गा.पा. वडा नं. ४ मा अवस्थित कालीगण्डकी नदीको मुख्य सहायक खोला म्याग्दी खोलामा आयोजना निर्माण गर्न लागिएको हो ।
आयोजनाको निर्माणले सरकारले राखेको जलविद्युत क्षेत्रको विकासको लक्ष्य पूरा गर्न विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।
यसअघि गत पुस १ गते सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा एभरेष्ट बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र नबिल बैंक गरी ५ ओटा बैंकको सह–वित्तीयकरणमा उक्त आयोजनामा रु. ५ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको थियो ।
यो आयोजनाको लागत रु. ७६३ करोड हुनेछ । आयोजना निर्माण २०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य छ । उक्त आयोजनामा प्रवर्द्धकहरूले रू २३० करोड लगानी गर्ने बताइएको छ ।
प्रभु स्टील्सले आईपीओ निष्कासन गर्ने तयारीमा छ । आईपीओ निष्कासन गर्ने आवश्यक काम गर्न गत मंसीर २६ गते कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता भएको छ ।
यस कम्पनीको अधिकृत पूँजी २ अर्ब ५ करोड छ भने जारी पूँजी २ अर्ब छ ।
यस कम्पनीले आईपीओ निष्कासनपछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ ।
यो कम्पनी विगत २ वर्षदेखि निरन्तर सञ्चालन मुनाफामा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल हकप्रद शेयर जारी गरेको छ । सो शेयरमा आवेदन दिन चाहने इच्छुक शेयरधनीले काठमाडौंको तीनकुनेस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । आवेदन दिने अवधि यही फागुन २८ गतेसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।