काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को टिकटबाट अमेरिकी तथा पश्चिमा मुलुक र कोरियाको हवाई यात्रा गर्न पाइने भएको छ ।
नेपाल एयरलाइन्सले सिधा उडान नभएका गन्तव्यका लागि जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सबीच द्विपक्षीय सम्झौता गरेपछि यस्तो सुविधा पाइने भएको हो ।
यसरी यात्रा गर्न चाहने यात्रुले नेपाल एयरलाइन्सको सिधा उडानमार्फत् जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलसम्म जानुपर्नेछ । त्यसपछि जापान एयरलाइन्सको ‘कनेक्टिङ फ्लाइट’मार्फत अमेरिकी तथा पश्चिमा मुलुक र कोरियाको यात्रा गर्न पाइने देशमा जान पाइने वायुसेवा निगमले बुधवार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘यो सम्झौता अनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्सको ‘कनेक्टिङ फ्लाइट’मार्फत विश्वभरीको अन्तिम गन्तव्यसम्मको लागि यात्रु तथा ब्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ । सोही नेटवर्क हुँदै विश्वभरीबाट पर्यटकहरू नेपाल भ्रमण गर्न पाउनेछन् ।
यो सम्झौताले वायुसेवा निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवद्र्धन र विकास हुने तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने र नेपाल–जापानको व्यावसायिक सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।
योसहित निगमसँग ‘प्यासेन्जर इन्टरलाइन पार्टनरसिप एग्रिमेन्ट’ गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ भने ‘कार्गाे इन्टरलाइन पार्टनरसिप एग्रिमेन्ट’ गर्ने एयरलाइन्सको संख्या २८ पुगेको छ ।