काठमाडौं । पछिल्लो समय सूचनाप्रविधि क्षेत्र विश्वव्यापी रूपमा तीव्र गतिमा विकास भए पनि नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महिलाको सहभागिता अत्यन्तै न्यून रहेको पाइएको छ ।
नेपालको आईसीटी क्षेत्रमा महिलाको सहभागिता, नेतृत्व र संलग्नताको विद्यमान अवस्थाबारे सूचनाप्रविधिमा महिला (डब्ल्यूआईआईटी) नामक संस्थाले गरेको अनुसन्धान प्रतिवेदनले आईसीटी कम्पनीमा महिलाको सहभागिता ७ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो ।
मूलतः मुख्य प्राविधिक काममा महिलाको सहभागिता धेरै रहे पनि आईसीटीको प्रयोगबाट चल्ने अन्य कम्पनीमा शून्य दशमलव ५१ प्रतिशत मात्रै सहभागिता छ ।
जम्मा ४०२ आईसीटी कम्पनी, ४०० आईसीटीको उपयोगबाट चल्ने कम्पनी र ४३० जना व्यावसायिक महिलामाझ गरिएको सर्वेक्षणबाट यो निष्कर्ष निकालिएको हो । आठओटा फोकस्ड ग्रूप छलफल पनि गरिएको सर्वेक्षण गर्ने संस्थाले जानकारी दिएको छ । अनुसन्धानको नेतृत्व डिजिटल ल्यान्डस्केप सम्बन्धमा जानकार डा. अमृता शर्माले गरेकी थिइन् । प्रतिवेदनअनुसार आईसीटी क्षेत्रमा सहभागीमध्ये सबैभन्दा धेरै २५ वर्षभन्दा कम उमेरका महिला छन् । १८ देखि २५ वर्षसम्मका ४५ दशमलव ५४ प्रतिशत र २६ देखि ३५ वर्षसम्मका ४३ दशमलव ७० प्रतिशत महिला सहभागी छन् ।
आईसीटी क्षेत्रमा कार्यरत महिलामध्ये उच्च तहमा १९ दशमलव ५५ प्रतिशत, मध्यम तहमा ४० दशमलव ४ प्रतिशत कार्यरत रहेको देखिएको छ । पीएचडी तहको शिक्षा पाएका शून्य दशमलव ६४ प्रतिशत, स्नातकोत्तर गरेका २० दशमलव ९५ प्रतिशत र स्नातक गरेका ६७ दशमलव १ प्रतिशत छन् ।
यस क्षेत्रमा सहभागी महिलाहरूमा बाहुन/क्षत्री ४४ दशमलव ८ प्रतिशत र जनजाति ४२ दशमलव ४६ प्रतिशत छन् । तर, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय दुवैमा आईसीटी विषयमा पढ्ने विद्यार्थीमा महिलाको संख्या न्यून छ । त्रिभुवन विश्वविद्यालयको अन्डरग्य्राजुएट तहमा आईसीटी विषय पढ्ने महिलाको अंश ३० दशमलव २८ प्रतिशत र काठमाडौं विश्वविद्यालयमा १३ दशमलव ५५ प्रतिशत छ । स्नातोकत्तर तहमा २० प्रतिशतभन्दा कम महिला भर्ना हुने गरेको प्रतिवेदनमा उल्लेख छ । आईसीटी क्षेत्रका काम गर्ने ६७ दशमलव ११ प्रतिशत महिलाले स्नातक र २० दशमलव ९५ प्रतिशतले स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
विश्वविद्यालयमा अध्ययन गर्दा आवश्यक मार्गदर्शन नहुँदा महिलालाई आईसीटीमा आउन चुनौती छ । करिअरको शुरुआतमा काम गर्ने नराम्रो वातावरण र व्यक्तिगत तथा व्यावसायिक जिम्मेवारी सन्तुलनमा ल्याउन गाह्रो हुनु अर्को समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।
तलब भुक्तानीका हिसाबले भने एशियाली अरू देशको तुलनामा नेपालमा समावेशी अवस्था देखिएको छ । ८७ दशमलव ९ प्रतिशत कम्पनीमा तलबमा भेदभाव नगरेको पाइएको छ । बाँकी १२ दशमलव १ प्रतिशतमा यस्तो समस्या देखिएको छ । अधिकांश महिला कर्मचारीले तलबका विषयमा कम्पनीसँग सौदाबाजी नगर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । भारतमा यो क्षेत्रमा महिलाको औसत तलब पुरुषको भन्दा १५ देखि २० प्रतिशत कम छ ।
अध्ययन प्रतिवेदनअनुसार ३४ दशमलव ३ प्रतिशत कम्पनीमा महिलाका लागि विशेष किसिमका ‘सपोर्ट टार्गेट’हरू राखिएको छ । बाँकीमा राखिएको पाइएको छैन । ११ दशमलव ४ प्रतिशतले सुत्केरी अवस्थामा तलबी बिदा नदिएको र ९८ दिनभन्दा बढी सुत्केरी बिदा दिने कम्पनी ५ दशमलव ९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ४६ देखि ६० दिनसम्म तलबी सुत्केरी बिदा दिने कम्पनीहरू ३८ प्रतिशत रहेको प्रतिवेदनमा छ ।
मंगलवार प्रतिवेदनको समीक्षा गर्दै काठमाडौं इन्जिनीयरिङ कलेजकी निर्देशक डा. प्रतिमा प्रधानले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विस्तारसँगै महिलाको योगदान पनि उल्लेखनीय रूपमा वृद्धि भइरहेको बताइन् । उनका अनुसार रिपोर्टमा त्यसलाई अझ पर्याप्त रूपमा देखाइएको छैन । आगामी दिनमा त्यसलाई सुधार गर्न आवश्यक छ ।