काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले नेचर गाइड/ट्रेकिङ गाइडविना निकुञ्ज क्षेत्रभित्र भ्रमण नगर्न/नगराउन आग्रह गरेको छ ।
कोरोना महामारीलगत्तै उक्त निकुञ्जमा जाने पर्यटकको संख्या घटेको थियो । सन् २०२३ देखि पर्यटक संख्या बढेसँगै निकुञ्ज कार्यालयले स्वदेशी र विदेशी दुवैलाई पथप्रदर्शक लिएर मात्रै निकुञ्ज भ्रमण गर्न आग्रह गरेको हो ।
सरकारले सन् २०२३ को अप्रिल १ देखि गाइडविना एक्लै ट्रेकिङ गर्न विदेशी पर्यटकलाई मनाही गरेको छ । नेपाल पर्यटन बोर्डले पर्यटकको सुरक्षाको कारण देखाउँदै गाइड अनिवार्य गरेको हो । यसमा ट्रेकिङ एजेन्सीहरूको लामो समयदेखिको लबिइङले पनि काम गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)लाई पत्र काट्दै यस्तो आग्रह गरेको हो । गत आइतवार पत्र काटेर निकुञ्ज कार्यालयले भनेको छ, ‘निकुञ्ज क्षेत्रमा भ्रमणमा आउने पर्यटकमध्ये केही पर्यटकले नेचर/ट्रेकिङ गाइड साथमा नलिई आउने गरेको देखिएको छ । विकट भौगोलिक अवस्था र अत्यधिक चिसो हावापानीयुक्त क्षेत्रमा पर्यटक हराउने, दुर्घटनामा पर्ने र मृत्युसमेत हुने देखिएको छ ।’
उक्त निकुञ्ज क्षेत्र घुम्न आउने पर्यटकको साथमा गाइड नहुँदा उपचार तथा उद्धारमा पनि कठिनाइ हुने गरेको बताइन्छ । कार्यालयले सरोकारवाला पर्यटन व्यवसायीलाई निकुञ्जमा पर्यटकीय गतिविधि गर्न पथप्रदर्शक पनि पठाउन आग्रह गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ‘नेपाल पर्यटन तथ्यांक २०२३’ अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जभित्र सन् २०२३ मा ७ हजार ६१४ विदेशीले भ्रमण गरेका थिए । मन्त्रालयको तथ्यांकले सन् २०१६ देखि नै यो निकुञ्जमा विदेशी पर्यटकको आवागमन बढ्दो क्रममा रहेको देखाउँछ । कोरोनापछि भने क्रमशः यस्तो संख्या घटेको तथ्यांकमा उल्लेख छ । उक्त तथ्यांकअनुसार सन् २०१९ मा यो निकुञ्जमा सबैभन्दा धेरै पर्यटक पुगेका छन् ।
सन् २०१९ मा यो निकुञ्जमा १२ हजार १३२ विदेशी पर्यटक पुगेका थिए । यस्तो संख्या सन् २०१८ मा १० हजार ६१९ थियो । कोरोनापछिको वर्ष सन् २०२१ मा ३४२ विदेशी पर्यटकले उक्त निकुञ्ज भ्रमण गरेका थिए । यो संख्या सन् २०२२ देखि भने बढेको छ ।
टानका महासचिव सोनमग्याल्जेन शेर्पाले अहिले निकुञ्जले गाइड अनिवार्य गरेको जानकारी दिए । ‘अब काठमाडौं वा अन्य कुनै स्थानबाट निकुञ्ज भ्रमणमा पर्यटक जाँदा गाइड लगेका छैनन् भने पनि निकुञ्जकै गाइड अनिवार्य राखेर भ्रमण गर्नुपर्छ,’ शेर्पाले भने, ‘यो निकुञ्जमा एफआईटी ग्रूप (गाइड नलिईकन भ्रमणमा जाने समूह) बढेको छ, केही नभए पनि सिजनमा १/२ जना पर्यटक हराउँछन् । यसले गर्दा नै निकुञ्जले ट्रेकिङ गाइड अनिवार्य गरेको हो । एफआईटीको रूपमा आउने हो भने पनि निकुञ्ज कार्यालयबाट गाइड लैजानुपर्ने गरी पत्र काटेको छ ।’
कार्यालयले उक्त पत्रपछि अब स्वदेशी वा विदेशी पर्यटकले आफै निकुञ्जमा जान्छु भनेर पुग्दैन । राष्ट्रिय निकुञ्ज कार्यालयले एक जना गाइड अनिवार्य हुने र गाइडले निकुञ्जले तोकेको निश्चित शुल्क तिरेर एउटा परिचयपत्र पाउने र सोही आधारमा एक सिजनभरि उक्त गाइडले पर्यटकलाई भ्रमण गराउनेछ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पनि मार्च, अप्रिल मे र सेप्टेम्बरदेखि नोभेम्बरसम्ममा बढी पर्यटक जान्छन् ।