काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । बाँकी रहेको शेयरमध्ये पनि कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता बाँडफाँट गरी १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
सर्वसाधारण लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएमा भने चैत ७ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको छ । यस आधारमा कम्पनीको आईपीओ फागुन २६ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकको कार्यालयसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन पाउने व्यवस्था छ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन प्रयोजनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
हाल यस कम्पनीको चुक्तापूँजी (संस्थापकतर्फबाट चुक्ता भएको) ५२ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारण समेतको शेयर स्वामित्व कायम भएपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ ।
आर्थिक वर्ष ०७९/८० सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी ३९ लाख ५२ हजार रुपैयाँ सञ्चित नाफामा रहेको छ ।
यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा र प्रतिशेयर आम्दानी ८६ पैसा छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा ८८ करोड ५५ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षभित्र भने कम्पनीले २ करोड ६९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।