काठमाडौं । माघ महीनामा धितोपत्र दोस्रो बजारमा १ खर्ब ५८ अर्ब ५७ करोड २६ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।
दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा माघमा पुसको तुलनामा कुल कारोबार रकम ७७ दशमलव ६८ प्रतिशत बढेको हो । पुसमा ८९ अर्ब २४ करोड ६३ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
रकमको हिसाबमा माघमा जलविद्युत समूहको शेयर कारोबार सर्वाधिक भएको छ । पुसमा पनि जलविद्युत समूहकै सर्वाधिक रकमको कारोबार भएको थियो । पुसमा ३६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको जलविद्युत समूहको माघमा ७३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । पुसको तुलनमा माघमा जलविद्युत समूहको कारोबार रकम ९९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
वृद्धिको हिसाबमा अन्य समूहको कारोबार रकम ३३२ दशमलव १२ प्रतिशत बढेको छ । पुसमा २ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको अन्य समूहको माघमा ९ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
पुसको तुलनामा माघमा चार समूहको कारोबार रकम घटेको छ । नेप्सेका अनुसार म्युचुअल फण्डको १८ दशमलव ५२ प्रतिशत, व्यापारिकको १८ दशमलव शून्य ६ प्रतिशत, वाणिज्यको ५ दशमलव ४३ प्रतिशत र ऋणपत्रको २ दशमलव २६ प्रतिशत कारोबार रकम घटेको हो ।
पुसमा ३१ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको म्युचुअल फण्डको माघमा भने २५ करोड ४९ लाख रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको हो । त्यस्तै पुसमा ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको व्यापारिक समूहको माघमा ३० करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको छ ।
वाणिज्य समूहको पुसमा ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा माघमा ७ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको हो । ऋणपत्रको कारोबार भने पुसमा ४० करोड ८८ लाख रुपैयाँभन्दा बढीको भएकोमा माघमा ३९ करोड ९६ लाख रुपैयाँभन्दा बढीको मात्र भएको हो ।