काठमाडौं । पछिल्लो एक महीनामा अडलट कारोबार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार पुसको तुलनामा माघमा अडलट कारोबार ४८ दशमलव ७८ प्रतिशत घटेको छ ।
पुस महीनामा धितोपत्रको दोस्रो बजारमा कुल रू. ७१ करोडभन्दा बढीको अडलट कारोबार भएकोमा माघ महीनामा घटेर रू. ३६ करोडमा झरेको छ । नेप्सेका अनुसार पुस महीनामा कुल ३६ लाख २६ हजार कित्ता शेयर अडलटमा कारोबारमा भएकोमा माघमा घटेर ९ लाख ४ हजार कित्तामा सीमित भएको छ ।
अडलट कारोबारका सम्बन्धमा अझै पनि लगानीकर्तामा जानकारी कम भएको बुझाइ ब्रोकरहरूको छ । पुराना लगानीकर्तालाई यससम्बन्धी जानकारी भए पनि कतिपय नयाँ लगानीकर्तालाई यसबारे खासै जानकारी भएकाे देखिँदैन । सामाजिक सञ्जाल प्लेटफर्ममा कतिपय लगानीकर्ताले अडलट कारोबार कहाँ, कसरी गर्ने भन्ने जिज्ञासा राख्ने गरेका छन् ।
अडलट कारोबारसम्बन्धी जानकारी नहुँदा धेरै लगानीकर्ताको हितग्राही खातामै त्यस्ता शेयर रहेको ब्रोकर बताउँछन् । धितोपत्र बजारका लगानीकर्ताले आफूसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अडलटमा कारोबार गर्न सक्ने व्यवस्था छ ।