काठमाडौं। चालू आर्थिक वर्ष (आव)को ११ महीनामा रू. ६ खर्ब २८ अर्ब बराबरको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रू.६ खर्ब २८ अर्ब ४३ करोड २२ लाख बरावरको शेयर कारोबार भएको हो ।
चालू आवको जेठ मसान्तसम्ममा नेप्सेमा रहेका १३ समूह, बैंकहरूले निष्कासन गरेको ऋणपत्र, संस्थापक शेयर,अन्य र अग्राधिकार शेयर गरी कुल १ अर्ब ७८ करोड ७० हजार कित्ता शेयर किनबेच भएको छ ।
उक्त कारोबार गत आवको सोही अवधिको तुलनामा ६५ दशमलव ७६ प्रतिशतले बढी हो । गत आवको ११ महीनामा १ अर्ब ७ करोड ३८ लाख ४९ हजार कित्ता बराबरको रू. ३ खर्ब ८६ अर्ब ६९ करोड ७९ लाख बराबरको शेयर खरीदविक्री भएको थियो ।
११ महीनामा १३ समूहमध्ये जलविद्युत् कम्पनीहरूको शेयर सर्वाधिक खरीदविक्री भएको छ । नेप्सेमा ९१ ओटा जलविद्युत् कम्पनी सूचीकृत छन् । कुल शेयर खरीदविक्री रकममध्ये जलविद्युत् समूहको हिस्सा मात्रै २८ दशमलव ५ प्रतिशत देखिएको छ । यस समूहको ६२ करोड ११ लाख २० हजार कित्ता बराबरको रू.१ खर्ब ७९ अर्ब ३३ करोड बराबरको शेयर कारोबार भएको हो । गत आवको सोही अवधिमा यस समूहको रू. १ खर्ब १५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार भएको थियो ।
यस्तै, कारोबार रकममा दोस्रो ठूलो हिस्सा वाणिज्य बैंकको ९ दशमलव ६ प्रतिशत रहेको छ । यस अवधिमा वाणिज्य बैंक समूहको २२ करोड ३४ लाख ८५ हजार कित्ता शेयरको रू. ६० अर्ब ११ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबार धेरै हुने सूचीमा तेस्रो नम्बरमा लघुवित्त समूहको ९ प्रतिशत हिस्सा छ । समीक्षा अवधिमा लघुवित्त समूहको रू.५६ अर्ब २४ करोड बराबरको शेयर कारोबार भएको छ ।