काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक पूँजीकरण भएको विशाल बजार कम्पनी लिमिटेडले ११ वर्षमा पहिलोपल्ट वार्षिक साधारणसभा गर्न लागेको छ ।
यसपालि कम्पनीका लगानीकर्ताले १ दशकपछि लाभांशसमेत पाउने भएका छन् । कम्पनीले ३४औं वार्षिक साधारणसभामा १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । यस वर्ष कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश नेपाल सरकारलाई समेत वितरण गरिसकेको जानकारी दिएको छ ।
कम्पनी ऐन, २०६३ बमोजिम प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने इजाजत पाएको १ वर्षभित्र पहिलो वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ । त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । तर, ९८ दशमलव ९६ प्रतिशत सरकारी शेयर स्वामित्व कायम रहेको कम्पनीले झन्डै ११ वर्षमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
माघ २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन २८ गते आर्थिक वर्ष (आव) २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्न ३४औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले ३३औं वार्षिक साधारणसभा ११ वर्षअघि २०७० साल चैत १४ गते सम्पन्न गरेको थियो । सो सभाबाट कम्पनीले आव २०६९/७० सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरेको थियो । ३३औं वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले पुरानो ६ वर्षको वार्षिक साधारणसभा गर्न लागेको हो ।
- लगानीकर्तालाई १४ प्रतिशत लाभांश
- यस वर्ष १४ प्रतिशत अन्तरिम लाभांश वितरण गरिसकेको कम्पनी १४ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारीमा
- मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ हजार ६४० रुपैयाँ र कुल बजार पूँजीकरण २ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी कायम
- दोस्रो बजारमा कम्पनीको ४ करोड १ लाख कित्ता शेयर सूचीकृत
- कुल शेयरमध्ये संस्थापकतर्फ ३ करोड ९६ लाख ८१ हजार ३३ कित्ता र सर्वसाधारणतर्फ ४ लाख १८ हजार ९६७ कित्ता
कम्पनीले आव २०७६/७७ देखि २०८०/८१ सम्मको लेखापरीक्षण सम्पन्न गरी चालू आवभित्र साधारणसभा गर्ने गरी काम गरिरहेको सञ्चालक समिति सदस्य राधा पोखरेलले जानकारी दिइन् ।
विगत वर्षहरूमा सञ्चालक समिति पूर्ण नभएकाले कम्पनीको कामकारबाही ढिला भएको बताउँदै सञ्चालक पोखरेलले आगामी दिनमा व्यवस्थित कम्पनी बनाउने गरी सञ्चालक समितिले काम गरिरहेको दाबी गरिन् । अहिले धितोपत्रको दोस्रो बजारमा सर्वाधिक पूँजीकरण यही कम्पनीको रहेकाले आगामी दिनमा लगानीकर्ताको विश्वास कायम रहने गरी काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन् । कम्पनीले १ दशकपछि लाभांश वितरण गर्न खोजे पनि लाभांश पहिले दिएकोभन्दा धेरै कम छ ।
कम्पनी व्यवस्थापन विभागका एक उच्च अधिकारीले आव २०६२/६३ सम्मको मुनाफाबाट कम्पनीले करसमेत १०० प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी दिए । कम्पनीले यसअघि आव २०६६/६७ सम्मको मुनाफाबाट करसहित ७० प्रतिशत नगद लाभांश वितरण गरेको समेत ती अधिकारीले जानकारी दिए । ११ वर्षपछि आह्वान गरिएको वार्षिक साधारणसभाले गत आव २०८०/८१ र चालू आव २०८१/८२ का लागि लेखापरीक्षकसमेत नियुक्त गर्नेछ ।
आव २०७५/७६ सम्मको सञ्चालक समितिको भत्ता एवं सुविधा अनुमोदन गर्ने र सञ्चालक राजेन्द्रकुमार वैद्यको राजीनामा अनुमोदन गर्दै सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । कम्पनीको शेयरपूँजी ४ अर्ब १ करोड रुपैयाँ कायम भएबमोजिम सभाले अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरिएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ९ गते १ दिन बुक क्लाज गर्न लागेको छ ।
कम्पनीको शेयरमूल्य भने घट्यो
न्यून लाभांश प्रस्ताव गरेको यस कम्पनीको शेयरमूल्य मंगलवार घटेको छ । पछिल्लो समय कम्पनीको शेयरमूल्य बढ्दो गतिमा थियो । लाभांश प्रस्ताव सार्वजनिक भएको दिन लगानीकर्ता निराश भएको देखिन्छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर कम्पनीको प्रतिकित्ता शेयरमूल्य ५ हजार ७०० रुपैयाँ कायम भएकोमा मंगलवार प्रतिकित्ता ६० रुपैयाँले घटेर अन्तिम शेयरमूल्य ५ हजार ६४० रुपैयाँ कायम भएको हो ।
मंगलवार कम्पनीको कुल बजार पूँजीकरण २ खर्ब २६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । यो दिन कम्पनीको १ करोड १९ लाख २६ हजार रुपैयाँ बराबरको २ हजार ११९ कित्ता शेयर कारोबार भएको छ ।
दोस्रो बजारमा कम्पनीको संस्थापकतर्फ ३ करोड ९६ लाख ८१ हजार ३३ कित्ता र सर्वसाधारणतर्फ ४ लाख १८ हजार ९६७ कित्ता गरी कुल ४ करोड १ लाख कित्ता शेयर सूचीकृत छ ।
२०८१ मङ्सिर ११ गते सरकारी स्वामित्वको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता शेयर संस्थापकतर्फ कायम रहने गरी दोस्रो बजारमा थपिएको थियो ।