काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरविवि हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ११ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. २ करोड ४५ लाख नाफा कमाएकोमा चालू आवमा उक्त नाफा रू. २ करोड २५ लाखमा सीमित भएको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी रू. १३ करोड ७३ लाख रहेकोमा चालू आवमा रू.१२ करोड ७३ लाखमा सीमित भएको हो ।
चुक्ता पूँजी रू. ४२ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा रू. ४ करोड ७७ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १५ पैसा र प्रतिशेयर नेटवर्थ रू. ३५४ दशमलव १० छ ।