काठमाडौं । आगामी वर्षे बालीका लागि युरिया मल आपूर्ति गर्न कठिनाइ भोगिरहेको कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट तातोपानी भन्सारसम्म ल्याएको १३ सय मेट्रिक टन युरिया मलको ढुवानी गराउन सकेको छैन ।
चीनले रासायनिक मल निर्यात नियन्त्रण गरेका कारण वर्षे बालीका लागि आवश्यक मल आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएका बेला नाकामा आइसकेको मल ढुवानी हुन नसकेको हो । कृषि सामग्री कम्पनी लिमिटेड र ठेकेदार कम्पनीबीचको विवादले उक्त युरिया मल करीब १ वर्षदेखि तातोपानी भन्सारमै थन्किएकोे छ ।
सिल्क मार्केट प्रालि, सिनोम्याक, ग्लोबलम्याटिक्स र बिध प्रालिले संयुक्त रूपमा गरेको ठेक्का सम्झौताअनुसार समयमै युरिया ल्याउन नसकेपछि कृषि सामग्री कम्पनीले कारबाही गरेका कारण मल भन्सारमै रोकिएको हो । कृषि सामग्री कम्पनीका महाप्रबन्धक विष्णुप्रसाद पोख्रेलले ठेक्का सम्झौताअनुसार आयातकर्ता कम्पनीले १०७ दिनभित्र मल कृषि कम्पनीलाई बुझाइसक्नुपर्ने बताए । ‘३०० दिन पूरा हुँदासम्म पनि ठेकेदार कम्पनीले हाम्रो गोदाममा मल नल्याउँदा ढिलो भएको भन्दै हामीले मल लिन नचाहेका हौं र उक्त कम्पनीलाई कारबाही गरेका हौं,’ उनले आर्थिक अभियानसँग भने ।
उनका अनुसार ठेकेदार कम्पनीहरूले शुरूमा २५ हजार मेट्रिक युरिया आयातको ठेक्का पाएका थिए । पटकपटक समय थप गरेर अरू मल समयमा ल्याए पनि १३ सय मेट्रिक टन भने ३०० दिन कट्दा समेत ल्याउन नसकेपछि ती कम्पनीहरूलाई कारबाही गर्नुपरेको पोख्रेलको भनाइ छ । ठेकेदार कम्पनीहरूले समय थप गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरे पनि सर्वोच्चले समय थप नगरेका कारण अहिले उक्त मल आयात हुने/नहुने विषयमा अन्योल छ । यसै सन्दर्भमा उक्त युरिया मल चाँडो व्यवस्थापनका लागि सोमवार प्रतिनिधिसभाको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ ।
भन्सारमा युरिया थन्किनुको कारण खोज्दै समितिले समस्या समाधानका लागि भन्सार विभागका महानिर्देशक महेश भट्टराई र अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएको हो । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले अहिलेसम्म युरिया नबिग्रेको जानकारी दिँदै अझै लामो समय रहेमा पग्लिन सक्ने जोखिम बढेको बताए ।
उनका अनुसार अन्य सामानको हकमा लामो समयसम्म भन्सारमा थन्किएर बसेको खण्डमा भन्सारले त्यसलाई जफत गरेर लिलाम विक्री गर्न पाउने प्रावधान हुन्छ । तर, रासायनिक मलको हकमा त्यस्तो नभएकाले व्यवस्थापन गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनी र सरकारकै हुने उनले बताए । पछिल्लो समय आन्तरिक खाद्य सुरक्षामा सुधार गर्ने उद्देश्यले चीनले चालेको कदमबाट विश्वबजारमा अहिले युरिया मलको मूल्यसमेत अत्यधिक वृद्धि हुनुका साथै आपूर्ति प्रभावित भएको छ ।
४०० ईभी पनि भन्सारमै रोकिए
विभिन्न कम्पनीले चीनबाट आयात गरेका करीब ४०० विद्युतीय सवारीसाधन (ईभी) तातोपानीमा रोकिएको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार जिप, माइक्रो बस र केही दुईपांग्रे सवारीसाधन भन्सारमा रोकिएका हुन् ।
चीनबाट भन्सार यार्डमा भित्रिएको अनुपातमा अनुपातमा जाँचपास नहुँदा ईभीहरू त्यत्तिकै थन्किएको सूचना अधिकारी काफ्लेले बताए ।
उनका अनुसार पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत अटो लोन सम्बन्धमा गरेको नयाँ व्यवस्थाले बजार प्रभावित बन्न पुगेकाले जाँचपास कम भएको हुन सक्छ । आयातकर्ताले अहिले जाँचपासमा खासै चासो नदिएको उनको भनाइ छ ।
अहिले सवारीसाधन कर्जा (अटो लोन) मा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने नयाँ व्यवस्था गरिएको भन्दै ईभी व्यवसायीले गुनासो गर्दै आएका छन् । व्यवसायीका अनुसार यसअघि ईभी गाडी बुकिङ गरेका ग्राहक नै दोधारमा परेका छन् । त्यसकारण आयात गर्दा पनि सोच्नुपर्ने अवस्था भएको बताइएको छ ।