म्याग्दी । म्याग्दीका तीनओटा खोलामा निर्माणाधीन ११ ओटा जलविद्युत् आयोजनाबाट करीब ३९० मेगावाट विद्युत् उत्पादन हुने भएको छ । जिल्लाका म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा गरी ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ३८८ दशमलव ५ मेगावाट बिजुली थपिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
निर्माणाधीन आयोजनामध्ये केही चालू आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
अन्नपूर्ण–४ स्थित ४० दशमलव ७ मेगावाट क्षमताको नीलगिरि पहिलो (एन–१) र ६ मेगावाट क्षमताको रेले खोला आयोजना अन्तिम चरणमा छन् । ‘हाम्रो पालिकाबाट चार आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । थप दुई आयोजना पनि एक वर्षभित्र जोडिँदै छन्,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ‘राष्ट्रिय ग्रिडमा जोडिएका आयोजनाबाट रोयल्टी समेत आउन थालेको छ । प्रक्रियामा रहेका अन्य आयोजना समयमै सम्पन्न गर्न स्थानीय सरकारले भरपूर सहयोग गर्नेछन् ।’ राहुघाट खोलाको पुछारमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ३७ दशमलव ५ मेगावाटको मंगले राहुघाट, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि रहेको २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० देखि ९५ प्रतिशतसम्म पुगेको छ ।
‘राहुघाट आयोजना अन्तिम चरणमा पुगेको छ,’ रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक गणेश केसीले भने, ‘भूक्षय भइरहने भूगोल, बग्ने प्रकृतिको माटो भएको, गिट्टी, बालुवासमेतका सामग्रीको समस्या सुल्झिँदै गएकाले केही महीनामा निर्माण सकेर उत्पादन शुरू गर्न सक्छौं ।’ म्याग्दी खोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दी खोला आयोजना र ५३ मेगावाटको अपरम्याग्दी–१ ले धमाधम शुरूङ निर्माण गरिरहेका छन् । सोही खोलामा ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला र ५७ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गरी यसै साता शुरूङ खन्न शुरू थालेका छन् ।
विकासमा अति पिछडिएको धवलागिरी गाउँपालिकामा विद्युत् आयोजना थपिँदै गएका छन् । मोटरबाटोको कल्पना नगरेका स्थानीयले पहुँचमार्ग पाएका छन् ।
अन्नपूर्ण–४ स्थित ४२ मेगावाटको मिस्त्री खोला, ७१ मेगावाटको नीलगिरि क्यास्केड (एन–२), ४ मेगावाटको घलेम्दी खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना गरी १११ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
म्याग्दीको उत्तरी भेगमा बेनीदेखि मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किलोमिटर खण्डमा बग्ने कालीगण्डकी नदीमा १६४ मेगावाटको कालीगण्डकी गर्ज, ५० मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपर कालीगण्डकी तथा ५० दशमलव ५३ मेगावाटको बेनी कालीगण्डकी आयोजना विद्युत् विकास विभागसँग खरीद सम्झौता गरी निर्माण प्रक्रियामा छन् । कालीगण्डकी गर्ज आयोजनामा लगानी जुटेको छ भने बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ । अन्य थप आधा दर्जन साना तथा मध्यम आयोजना विद्युत् सर्भे अनुमति लिएर विद्युत् खरीदविक्री सम्झौता (पीपीए)को पर्खाइमा छन् ।