काठमाडौं । गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त भएको बीपी राजमार्गको भकुण्डेबेंशीदेखि नेपालथोकसम्म पर्ने सडक खण्ड निर्माणका लागि सरकारले आउँदो बुधवारसम्ममा बोलपत्र (ठेक्का) आह्वान गर्ने भएको छ । क्षतिग्रस्त २८ किलोमीटर (किमी) खण्डको सडक निर्माणका लागि सडक विभागले ८ अर्ब ५० करोड रुपैयाँका चारओटा ठेक्का आह्वान गर्ने तयारी गरेको छ ।
विभागले फागुनभित्र आह्वान गर्ने तयारी गरेको र सोहीअनुसार आउँदो बुधवारसम्ममा सूचना निकाल्ने विभागका उपमहानिर्देशक तथा प्रवक्ता अर्जुनप्रसाद अर्यालले जानकारी दिए । ‘उक्त खण्डको सडक निर्माणका लागि चारओटा ठेक्का आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ,’ अर्यालले भने, ‘महानिर्देशकज्यू सोमवार विदेश भ्रमण सकेर आइपुग्नुहुन्छ, त्यसपछि बुधवारसम्ममा ठेक्का आह्वान गर्ने तयारीमा छौं ।’
उनका अनुसार यी चारओटा ठेक्कामध्ये तीनओटा सडक डिभिजन भक्तपुर कार्यालय र एउटा सडक डिभिजन खुर्काेटले आह्वान गर्नेछ । यो सडक खण्डको ठेक्कामा नेपाली निर्माण व्यवसायी सहभागी हुनेछन् । दुई लेनको बन्ने यो सडक नेपाली निर्माण व्यवसायीबाटै बनाउने तयारी विभागको छ । ८ अर्ब ५० करोड रुपैयाँको एउटै ठेक्का निकाल्दा निर्माणमा ढिलासुस्ती हुने र नियमन गर्न पनि समस्या हुने भएकाले चारओटा प्याकेज बनाइएको अर्यालले जानकारी दिए ।
अर्थ मन्त्रालयले फागुन ६ गते बाढीपहिरोबाट क्षति भएका २६ ओटा आयोजनाको पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति दिइसकेको छ । २६ ओटा आयोजनामा बीपी राजमार्ग पनि परेको छ । स्रोत सहमति भएसँगै विभागले ठेक्का आह्वान गर्ने अन्तिम तयारी गरेको हो ।
- नियमन र छिटो काम सक्न ठेक्काका भिन्नभिन्न प्याकेज तयार
- खुर्काेट डिभिजनले एउटा र भक्तपुर डिभिजनले तीनओटा ठेक्का आह्वान गर्ने
पूर्वी तराईलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कुल १६० किमी दूरीको यो राजमार्गलाई दुई लेन बनाउने योजनाअनुसार पहिलो चरणमा क्षतिग्रस्त खण्डबाट विस्तार गर्न लागिएको छ । डिजाइन परिवर्तन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको भकुण्डेबेंशी–नेपालथोकसम्मको दूरी २८ किमी छ । यही खण्ड बनाउन अहिले विभागले ठेक्का आह्वानको तयारी गरेको हो ।
सरकारले तयार गरेको डिजाइन तथा डीपीआरअनुसार भकुन्डेबेंशीदेखि नेपालथोकसम्मको २८ किलोमीटर सडक पुनर्निर्माण गर्न ९ अर्ब ६६ करोड आवश्यक पर्नेछ । यद्यपि अहिले भने यो रकम घटेको छ ।
भक्तपुर डिभिजनले तयार गरेको डीपीआरअनुसार डिजाइन परिवर्तन गरेर दुई लेनको बनाउने र बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने प्रविधि अपनाउँदा लगानी बढ्ने बताइएको छ । जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्गको साविकको भन्दा फरक सडक निर्माणको डिजाइन तयार पारिएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जापान सरकारको सहयोगमा पहिला यो राजमार्ग बन्दाको डिजाइनमा केही परिवर्तन गरिएको जानकारी दिए ।
‘जापानले बनाउँदा पहिला इन्टरमिडियट लेन (दुई लेन नपुगेको)को चौडाइको डिजाइन थियो र त्यहीअनुसार सडक बनेको थियो । दुई लेन कालोपत्र सडकका लागि नौ मीटर कालोपत्र चौडाइ हुनुपर्छ । यो राजमार्गको चौडाइ ६ मीटर छ । पहिला बनाइएको डिजाइनमा स्कोर डेप्थ र दुई लेनको सडक बनाउने थिएन । स्कोर डेप्थ भनेको खोलानाला, नदी वा अन्य जलस्रोतहरूसँग जोडिएका संरचनाहरू (पुल, सडक, तटबन्ध आदि)को आधार भागको कटान वा क्षय हुने गहिराइ हो । सडक निर्माणमा स्कोर डेप्थ मुख्यत: ती क्षेत्रमा बनाइन्छ, जहाँ पानीको बहावले सडकको आधार कमजोर बनाउन सक्छ ।