काठमाडौं । गत आवमा वाणिज्य बैङ्कहरूले औसतमा १६.८५ प्रतिशत बढी खुद मुनाफा आर्जन गरेका छन् । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका २७ ओटा वाणिज्य बैङ्कको मुनाफामा भएको वृद्धिका आधारमा उक्त औसत वृद्धिदर गणना गरिएको हो । सो अवधिमा ५ बैङ्कको मुनाफा घटे पनि कतिपयको मुनाफा उच्चदरमा बढेकाले औसत वृद्धिदर सन्तोषजनक देखिएको हो ।
बैङ्कहरूको मुनाफा वृद्धिका आधारमा शेयरधनीले पाउने लाभांशसमेत बढ्ने विश्लेषण गरिएको छ । त्यसको प्रत्यक्ष प्रभाव मङ्गलवार र बुधवारको शेयरबजारमा देखिएको छ । धमाधम मुनाफा वृद्धिसहितको वित्तीय विवरण आउन धालेपछि २ दिनमा नै शेयरबजार परिसूचक करीब ५० अङ्कले बढेर १ हजार २ सय १० को तहमा पुगेको छ । हाल २८ वाणिज्य बैङ्क सञ्चालनमा भए पनि राष्ट्रिय वाणिज्य बैङ्कको भने वित्तीय विवरण प्रकाशित भएको छैन । गत आवमा बैङ्कहरूको खुद ब्याज आम्दानीमा उच्च वृद्धि भएसँगै सञ्चालन मुनाफा र खुद मुनाफामा वृद्धि भएको हो ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएका २७ ओटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्षमा कुल रू. ४८ अर्ब ७९ करोड खुद मुनाफा गरेका छन् । अघिल्लो वर्ष ती बैङ्कहरूको कुल मुनाफा रू. ४१ अर्ब ७६ करोडको थियो । औसत नाफा वृद्धिदर २२ प्रतिशत देखिए पनि ती सबै बैङ्कहरूको कुल नाफा भने १७ प्रतिशतले बढेको छ । केही बैङ्कको नाफा अघिल्लो आवको तुलनामा घटेकोले कुल मुनाफा रकमको वृद्धिदर कम देखिएको बैङ्करहरू बताउँछन् ।
गत आवमा सबैभन्दा धेरै नबिल बैङ्कले रू. ४ अर्ब ५ करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा यो बैङ्कको मुनाफा १२ दशमलव २२ प्रतिशतले बढेको छ । यस्तै, कृषि विकास बैङ्कको मुनाफा ४४ दशमलव १३ प्रतिशतले बढेर रू. ३ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो आवमा यसको मुनाफा रू. २ अर्ब ५४ करोड रहेको थियो ।
साथै, नेपाल इन्भेष्टमेण्ट बैङ्क र नेपाल बैङ्कको नाफा रू. ३ अर्बभन्दा बढी रहेको छ । २५ ओटा बैङ्कको मुनाफा १ अर्ब नाघेको छ भने ३ ओटा बैङ्कको मुनाफा १ अर्बभन्दा कम रहेको छ ।
प्रतिशतको हिसाबमा सबैभन्दा धेरै नाफा वृद्धि सिभिल बैङ्कको भए पनि रकमका आधारमा कम छ । अघिल्लो आवको तुलनामा गत आवमा यस बैङ्कको खुद मुनाफा ८५ प्रतिशतले बढेर रू. ६४ करोड ५० लाख पुगेको छ । रकमको हिसाबमा कृषि विकास बैङ्कको खुद ब्याज आम्दानी धेरै देखिए पनि प्रतिशतको आधारमा जनता बैङ्कको अघि छ । गतवर्ष यो बैङ्कको खुद ब्याज आम्दानी २१ दशमलव ९९ प्रतिशतले बढेर रू. ९० अर्ब १९ करोड पुगेको छ । त्यस्तै, रकमको आधारमा नबिल बैङ्कको सञ्चालन मुनाफा सबैभन्दा धेरै रहेको छ । यस बैङ्कको सञ्चालन मुनाफा रू. ६ अर्ब १२ करोड पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२ दशमलव शून्य ६ प्रतिशत बढी हो ।
समग्रमा बैङ्कहरूको सञ्चालन मुनाफा २३ दशमलव ६३ प्रतिशतले बढेर रू. ६४ अर्ब १२ करोड पुगेको छ । प्रतिशतको आधारमा भने सिभिल बैङ्कको सञ्चालन मुनाफा ३ सय १८ दशमलव २५ प्रतिशतले बढेको छ ।
बिहीवार आर्थिक अभियानमा प्रकाशित यसै समाचारको शीर्षकमा अन्यथा हुन गएकाले सच्याईएको छ - सम्पादक ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.