काठमाडौं । तीनओटा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको एक प्रतिवेदनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’अनुसार लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम छ ।
प्रदेशगत आधारमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी बागमती प्रदेश छ । उक्त प्रदेशमा ५९ दशमलव सात प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५ दशमलव एक प्रतिशत, कोशी प्रदेशमा १४ दशमलव सात प्रतिशत, मधेश प्रदेशमा आठ दशमल्व आठ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा देशमा कुल प्रत्यक्ष वैदेशिक लगानी रू. २ खर्ब ९५ अर्ब ५० करोड छ, जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् रू. १ खर्ब ३ अर्ब ४५ करोड (३५ प्रतिशत) लगानी रहेको देखिन्छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९ दशमलव ७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४० दशमलव दुई प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव चार प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा छ ।