काठमाडौं । हालसम्म ४ कम्पनीले गत आर्थिक वर्ष (आव) २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सर्पोट लघुवित्त वित्तीय संस्था, कामना सेवा विकास बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये निफ्राबाहेक तीनओटै कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा वृद्धि भएको छ । तीमध्ये सर्पोट लघुवित्त वित्तीय संस्थाको नाफा सबैभन्दा बढी वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नाफा ७५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो वर्ष १ करोड ३६ लाख नाफा कमाएकोमा गत वर्ष बढेर रू. २ करोड ३८ लाख पुगेको छ ।
त्यस्तै कामना सेवा विकास बैंकको नाफा अघिल्लो आवको तुनलामा गत आवमा ६६ दशमलव ९३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ३६ करोड १३ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ६० करोड ३२ लाख पुगेको हो ।
त्यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्थाको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशलमव ४७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. १० करोड ७४ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. १४ करोड ६६ लाख पुगेको छ ।
त्यस्तै निफ्राको नाफा भने अघिल्लो आवको तुलनामा गत आवमा केही घटेको छ । अघिल्लो आवमा यस कम्पनीले रू. १ अर्ब ४१ करोड नाफा कमाएकोमा गत आवमा घटेर रू. १ अर्ब ३३ करोडमा सीमित भएको छ ।